काठमाडौँ, १ फागुन – नेपाल कम्युनिष्ट पार्टीका नेता नरबहादुर कार्कीले वैज्ञानिक समाजवादका निम्ति अन्तिम पटक क्रान्तिमा होमिन आग्रह गरेका छन्। नेकपाले २४औँ जनयुद्ध दिवसका अवसरमा राजधानीको शान्ति वाटिकामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेता कार्कीले यस्तो आग्रह गरेका हुन्।
कार्कीले १० वर्षे जनयुद्धपछि मुलुकले आंशिक रूपमा परिवर्तन हासिल गरे पनि आम जनताको जनजीवनमा परिवर्तन नभएको बताए। उनले भने, ‘जुन लक्ष्य र उद्देश्यले जनयुद्ध शुरु भएको थियो, त्यो लक्ष्यभन्दा बाहिर गएर अतिरञ्जित रूपमा व्याख्या गरियो। जनयुद्धको कार्यभार बाँकी हुँदै जनयुद्ध सकियो भनियो तर खासमा शहीदका सपना पूरा भएका छैनन्, अब ती सपना पूरा गर्ने जिम्मा हाम्रो काँधमा आएको छ।’
‘प्रचण्डको टाउकोमा घन बजार्नुपर्छ’
सत्तारूढ नेकपाका अध्यक्ष प्रचण्डले जनतालाई धोका दिएको भन्दै नेपाली जनताले प्रचण्डको टाउकोमा घन बजार्ने नेता कार्कीले दाबी गरे । उनले भने, ‘प्रचण्डले क्रान्तिलाई धोका दिनुभयो। जेजस्ता लक्ष्यहरू, उद्देश्यहरू सुनाएर क्रान्ति सफल पार्न मोर्चाबन्दी गर्नुभएको थियो, आज त्यसको ठीक विपरीत कार्य गर्दै पतनको बाटोमा पुग्नुभयो।’
उनले अघि थपे, ‘प्रचण्ड अर्को माओवादी जन्मिन्छ भनेर भन्नुहुन्छ। उहाँलाई यो कुरा थाहा छैन, माओवादी धेरै अघि बढिसक्यो, बरु राता मान्छेहरू देखेर उहाँ तसिर्न थाल्नुभएको छ। प्रचण्डलाई सपनामा मात्रै होइन, विपनामा पनि राता मान्छेहरूले बाँकी राख्ने छैनन्।’
सरकारले आफ्नो पार्टीका कार्यकर्तामाथि दादागिरी जमाउन खोजेको बताउँदै कार्कीले भने, ‘भिड्ने भए खुला आह्वान गर, हामी तयार छौँ। उनले भने, ‘कम्युनिस्टको नाममा दलाली गर्नेहरूले कान खोलेर सुन, विदेशीको इशारामा देश र जनताप्रति धेरै धोका दियौ, अब यसो गर्न हामी दिन्नौैँ। प्रचण्डले बुझे हुन्छ, तपाईंले चलाएको राज्य सरकारले हाम्रा नेता कार्यकर्तालाई त्रसित बनाउने र पक्राउ गर्ने काम गरिरहेको छ। यस्ता क्रियाकलाप बन्द गर्नुभएन भने जनताले तपाईको टाउकोमा घन बजार्नेछन्।’
उनले थपे, ‘विदेशीको गुलाम बनेर जनतामाथि शासन गर्न पाइँदैन। पहिलो विदेशी दलाल अमेरिका र दोस्रो दलाल भारत हो, यी दलाल देशहरूका पनि तल्लो स्तरका दलालहरूले नेपाली जनतामाथि राज गर्ने काम भइरहेको छ। यो हामीलाई स्वीकार्य छैन। म सम्पूर्ण विदेशी नियोगहरूलाई अनुरोध गर्न चाहन्छु, नेपाली जनताको स्वाभिमानमाथि गिर खेल्ने काम बन्द गर्नुहोस्, असली जनताको भावनामा चोट पुग्छ।’
‘जनार्दन शर्माले (नेकपा) छोड्नुपर्छ’
‘इन्टरनेशनल मोटिभेटर’समेत रहेका नेता कार्कीले सत्तारूढ (नेकपा)का नेता जनार्दन शर्मालाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन्।
उनले भने, ‘खै के दारी पालेको एक जना पूर्व माओवादी नेता हुनुहुन्छ, सायद जनार्दन कमरेड हुनुपर्छ, अस्ति एक कार्यक्रममा यो पाराले उपलब्धि सुरक्षित हुँदैनन् भन्दै गरेको सुनेको थिएँ, यस्ता दलालहरूको पछि लागेर हुँदैन कमरेड, हाम्रो पार्टीमा आउनुहोस्, एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादका निम्ति अन्तिम पटक सँगै हिँडौँ, यो दलाल संसदीय व्यवस्थाका विरुद्धमा आवाज बुलन्द गरौँ।’
उनले अघि थपे, ‘दलाल पूँजिवादी व्यवस्थाका विरुद्धमा बोल्न र लड्न डराउने कायरहरूको कार्यकर्ता बनेको ठ्याम्मै सुहाएन, हामी पुनः तपार्इंलाई अबिर लगाएर पार्टीमा स्वागत गर्छौं कुनै सङ्कोच नमानी आउनुहोस्।’
‘सेना र प्रहरी पनि विप्लव माओवादी बने’
नेता कार्कीले नेपाली सेना र प्रहरी पनि विप्लव माओवादी बनेको टिप्पणी गरेका छन्। उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई लागेको होला, विप्लव माओवादीका थोरै कार्यकर्ता छन्, पक्राउ गरेर थुनछेक गर्दा समस्या समाधान हुन्छ, यिनीहरू चुप बस्छन् भन्ने लागेको होला। त्यो सपना हो। ओलीले धेरै प्रहसन नगरे हुन्छ। यहाँ सबै क्षेत्रमा विप्लव माओवादी छन्। यो व्यवस्थाले केही दलालहरूलाई लुटेर खाने अवसर दिएको छ, यो धेरै दिन चल्दैन।’
उनी भन्छन्, ‘समान रूपमा अधिकारको बाँडफाँट र उयुक्त राज्य व्यवस्थाको अनुभूति गर्ने व्यवस्था वैज्ञानिक समाजवाद हो, यस अभियानलाई विचलित बनाउने र बाधा सिर्जना गर्ने काम भयो भने त्यसको परिणाम ठीक हुँदैन, कतै लुक्ने ठाउँ छ भने ओली–प्रचण्डले आजैदेखि खोजिराखे हुन्छ।’