काठमाडौं– राप्रपाका अध्यक्षमध्येका एक कमल थापाले अब पार्टी फुटाउँदिन भन्दै कसम खाएका छन्। राप्रपा र राप्रपा (संयुक्त) बीच भएको एकता घोषणासभालाई सम्बोधन गर्दै थापाले यस्तो प्रतिबद्धता जनाएका हुन्।
कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकताको सहमति पछि बुधबार राजधानीमा एकता घोषणासभा भएको हो। ‘नेताले मात्र होइन, पार्टी फुटाउँदिन भनेर सबै कार्यकर्ताले प्रतिवद्धता जनाउनुपर्छ’, घोषणासभालाई सम्बोधनका क्रममा भागवत गीताको पुस्तक खल्तीबाट निकाल्दै थापाले भने, ‘म पनि अब कहिल्यै पार्टी फुटाउँदिन। यो गीताको पुस्तक साक्षी छ।’
दुई पार्टीबीच एकताका लागि शनिबार राति अबेर सहमति जुटेको थियो। कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाश चन्द्र लोहनी तीनै जना समान हैसियतमा तीन अध्यक्ष रहने गरी एकताको समहति भएको थियो।
पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाड गर्दा तीनै अध्यक्षको सहमतिमा हुने र बैठकको अध्यक्षता पालैपालो गर्ने समहति भएको छ। पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहने र चुनाव चिन्हबारे छलफलपछि निर्णय लिने बताएको छ। एकताको आधार पत्र भनी १० बुँदे सहमति पत्र जारी गरिएको थियो।
एकिकरण सम्बन्धि आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपाबाट दिपक बोहरा, बुद्धिमान तामाङ र भाष्कर भद्रा र राप्रपा (संयुक्त) बाट बिक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना रहेको कार्यदल गठन गरिएको राप्रपाले जनाएको छ। राजसंस्थाको छायामा २०४७ जेठ १५ मा दुईवटा राप्रपा स्थापना भएको थियो। स्थापनाको एक वर्षमै दुवै पार्टीबीच एकता भएको थियो। तर,केहि समय पछि पार्टी पुनः विभाजन भयो।