कास्की– १८ औं संस्करणको आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन्। खेल पोखरा रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ।
अघिल्लो संस्करणको फाइनलमा थ्री स्टारसँग पराजित हुँदै उपविजेता सिमित भएको आर्मी मनाङलाई पराजित गर्दै लगातार दोस्रोपटक फाइनल पुग्ने सोचमा छ। आर्मीले संकटालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।
त्यस्तै युवा खेलाडीले भरिपूर्ण मनाङ आर्मीलाई स्तब्ध पार्दै फाइनल पुग्ने दाउमा छ। झापा–११ फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको मनाङ आहा रारा गोल्डकपको सर्वाधिक सफल क्लबमध्येको एक हो। उपाधि दाबेदार मानिएका दुई टोलीबीचको खेल रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
यि दुई टोलीबीचको विजेताले शनिबार फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ। पुलिसले बुधबार साविकको विजेता रुस्लान थ्री स्टार क्लबलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। गोल्डकपको विजेतालाई १० लाख रुपैयाँ तथा उपविजेतालाई ५ लाख रुपैयाँ प्रदान गरिनेछ।