एजेन्सी– कोरोना भाइरस न्यूनीकरण गर्न भारतले अप्रिल १५ सम्मका लागि सवै देशको भिसा रद्द गरेको छ।
भारतले बुधबार राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म रद्द गर्ने निर्णय गरेको हो।
१५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ। यसमा भारतीय नागरिक पनि पर्नेछन्। कोरोना भाइरसका कारण विश्वमा अहिले सम्म ४ हजार भन्दा बढीको मृत्यु भैसकेको छ। भारतमा पनि ६३ जनालाई कोरोना भाइरस संक्रमण भइसकेको पुष्टि गरेको छ।
ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक)लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ। यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ।
यो सँगै कोरोना भाइरसको संक्रमण लिएर यात्रा प्रतिबन्ध लगाउने देशको सूचीमा भारत पनि परेको छ। भारत सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि उपयुक्त विधिको प्रयोग गरिएको बताए ।