काठमाडौं– नेपाल नर्सिङ काउन्सिलकी सदस्य जीता बरालले आफ्नो नक्कली फेसबुक अकाउण्ट बनाएर एक व्यक्तिले नर्सिङ लाईसेन्स परीक्षामा सामेल एकजना विद्यार्थीलाई ठगी गरेको बताएकी छिन्। पास्कल रोकाया नाम गरेका व्यक्तिले आफ्नो नामको फेसबुक अकाउण्ट बनाई विद्यार्थीसँग पैसा मागेको बरालको आरोप छ।
उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी परीक्षार्थीसँग ठगी गर्ने ती व्यक्तिमाथि तत्काल कारवाही गर्न मागसमेत गरेकी छिन्। जीता बराल नामको फेसबुक अकाउण्टबाट नर्सिङ लाईसेन्स परीक्षा दिने २० वर्षीया एकजना नर्ससँग मेसेन्जरमा कुराकानी भएको स्क्रिनसट बुधबार सार्वजनिक भएको थियो। उक्त मेसेन्जरमा भएको कुराकानीमा परिक्षा उतिर्ण गराईदिन्छु भनेर ३ लाख रुपैंया मागेको देखिन्छ।

कुराकानीमा ३ लाखमध्ये आधा पैसा नर्सिङ काउन्सिलकी रजिष्ट्रार बिन्दा घिमिरेले खाने हो भन्ने उल्लेख छ। नर्सिङ परिक्षा दिने विद्यार्थीले परीक्षा दिनुभन्दा अगाडी ती व्यक्तिलाई आइएमईमार्फत २ लाख ५० हजार रुपैँया पठाएको मेसेन्जर कुराकानीमा छ। नर्सिङ काउन्सिलले फागुन २४ गते नर्सिङ लाईसेन्स परिक्षा लिएको थियो।
उक्त मेसेन्जरमा भएको कुराकानीमा उल्लेख गरिएकी नर्सिङ काउन्सिलकी रजिष्ट्रार विन्दा घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइकी पत्नी हुन्। मन्त्री भट्टराइले बिहीबार दिउसो “कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन” भनेर ट्वीट गरेका थिए।

यता रजिस्ट्रार घिमिरेले घुस मागेकोबारे आफूलाई केही थाहा नभएको बताएकी छिन्। नर्सिङ काउन्सिलकी सदस्य जीता बरालसँग कुरा गरेको प्रसंग उल्लेख गर्दै उनले भनिन्, “उहाँले फेसबुकको फेक अकाउण्ट बनाएर यस्तो काम गरिएकाले म प्रहरीमा उजुरी हाल्छु भन्नुभएको छ। प्रहरीको अनुसन्धानपछि तथ्य कुरा सार्वजनिक होला।” नर्सिङ काउन्सिलकी सदस्य जीता बरालले आफूले साईबर क्राइम अन्तर्गत उजुरी दर्ता गरिसकेको र अब कानुनी प्रक्रिया अघि बढ्ने पत्रकार सम्मेलनमा जानकारी दिइन्।