काठमाडाैं — विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्ने अहिलेसम्म देखिएको सबैभन्दा प्रभावकारी अस्त्र सचेतना नै हो। कोरोना भाईरस एक व्यक्तिबाट अर्को व्यक्तिमा तरल कणहरुको माध्यमबाट सर्ने भएकाले त्यसप्रति सचेत रहन अति आवश्यक छ।
कोरोना लागेको व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्कने तरल कणहरु स्वस्थ व्यक्तिको सम्पर्कमा पुग्दा भाइरस सर्छ। यसका अतिरित्त टेबल, कुर्सी, बेन्च, रेलिङ लगायतका माध्यमबाट पनि कोरोना भाइरसको संक्रमण सर्ने गर्छ।
भाइरस संक्रमित व्यक्तिबाट निस्कने तरल कणहरु टेबल, कुर्सी, बेन्च आदिको सतहमा पर्न गएमा भाइरसका जिवाणु केहि दिनसम्म त्यही सतहमा जिउँदै रहन सक्छन्। त्यस्ता सतहमा कुनै स्वस्थ व्यक्तिले छोएमा ती जीवाणुहरु स्वस्थ व्यक्तिको सम्पर्कमा आउँछन्, र नाक, मुख, आँखा लगायतका माध्यमबाट शरिरभित्र प्रवेश गर्छन्।
कुनै स्वस्थ व्यक्तिको शरिरको बाहिरि भागमा मात्रै भाइरसका जिवाणु रहेछन् भने पनि त्यसले संक्रमण गरिहाल्दैन। तर यदि ती जीवाणुहरु नाक, मुख, आँखा लगायतका शरिरका अंगहरुबाट शरिरभित्र सजिलै प्रवेश गर्न सक्छन् र व्यक्ति संक्रमित हुन्छ।
कोरोना भाईरसको संक्रमणबाट बच्न अथवा भाइरसलाई शरिरभित्र प्रवेश गर्न नदिन साबुन पानी र स्यानिटाईजरको प्रयोग अति नै महत्वपूर्ण रहेको चिकित्सकहरुले बताउँदै आएका छन्।
साबुन पानी र स्यानिटाईजरले कसरी सहयोग गर्छ ?
यदि कसैले भाईरसका जीवाणु रहेको टेबल वा कुर्सीको सतहमा छोयो भने उक्त व्यक्तिको हातमा ती जीवाणु सर्न सक्छन्। यसरी हातमा रहेका भाइरसका जीवाणुलाई मार्नका लागि साबुन पानी वा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ।
साबुन पानीले राम्रोसँग हात धुँदा अथवा साबुन पानी उपलब्ध नभएको खण्डमा स्यानिटाइजरले हात सफा गर्दा भाइरसका जीवाणु मर्छन् र संक्रमण हुनबाट बच्न सकिन्छ। साबुन भाइरसविरुद्ध लड्ने उत्तम प्रतिरक्षा तत्व हुन् तर साबुन पानीले हात धुने अवस्था नरहेको अवस्थामा छैन भने ह्यान्ड स्यानिटाइजर उत्तम विकल्प हुन सक्ने ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ (सिडिसी)ले बताएको छ।
सिडिसीका अनुसार स्यानिटाइजरमा कम्तिमा ६० प्रतिशत अल्कोहल समावेश गरिएको हुन्छ। त्यसकारण साबुन पानीको अभावमा भाइरसका जीवाणुबाट मुक्त हुनका लागि स्यानिटाइजरको प्रयोग गर्नु एक प्रभावकारी उपाय मानिएको छ।
तर यसलाई पर्याप्त मात्रामा सहि ढंगले प्रयोग गरेमा मात्र भाइरसका जिवाणुको संक्रमणबाट केही रोगथाम हुन सक्छ। जसका लागि कति मात्रामा प्रयोग गर्ने भन्ने कुरा सुनिश्चित गर्न सबै भन्दा पहिला लेबल पढ्ने सल्लाह दिइएको छ।
कोरोनाभाइरसबाट जोगाउन स्यानिटाइजर फाइदाजनक भएता पनि यसलाई केवल साबुन र पानी उपलब्ध नभएको खण्डमा मात्र प्रयोग गर्न स्वास्थ्य एजेन्सीले सुझाव दिएको छ।
चिकित्सकहरुका अनुसार विभिन्न प्रकारका कीटाणुहरु जस्तै क्राइप्टोस्पोरिडियम, नोरोभाइरस, र क्लोस्ट्रिडियमलाई हटाउनका लागि साबुन र पानी नै सबै भन्दा प्रभावकारी भएको जनाइएको छ। जबकी ह्यान्ड स्यानिटाइजर साबुन र पानी जतिको प्रभावकारी नभएको चिकित्सकहरुले बताएका छन्।
त्यसैले साबुन उपलब्ध छ र प्रयोग गर्न मिल्छ भने साबुन नै उत्तम हो। तर साबुन पानीको उपलब्धता सबैतिर हुन नसक्ने भएकाले आफूसँग स्यानीटाइजर बोकेर हिंड्नु र बेला बेला स्यानिटाईजरले राम्रोसँग सफा गर्नु बुद्धिमानी हुन्छ। यसो गर्दा हातमा रहेका कोरोना भाइरसका जिवाणुहरुले शरिरभित्र प्रवेश गर्न पाउँदैनन् र संक्रमणको जोखिमबाट जोगिन सकिन्छ।