विगत तिन वर्ष देखी निलम्बनमा रहेको नेपाल क्रिकेट संघको निलम्बन फुकवासँगै नेपाली क्रिकेटको अबको योजना र भावी कार्यदिशाबारे चर्चा सुरु भइसकेको छ। क्रिकेटको सर्वोच्च संस्था अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको निलम्बनमा रहेको अवस्थामा नेपाली क्रिकेटले आन्तरीक संरचना र घरेलु क्रिकेटमा ठुलो परिवर्तन गर्न सकेको थिएन तर अब भने समय फेरीएको छ। नेपाली क्रिकेटले घरेलु संरचना बलियो बनाउन आवश्यक छ।
वर्षौँ पूरानो संरचनामा क्रिकेट खेलीरहेको नेपालले अब अझै यही पूरानो र अव्यवस्थित संरचनामा भर पर्नु नेपाली क्रिकेटको लागी राम्रो देखिदैन। यसअघि क्यानको नेतृत्वमा ल्याइएका राजनितीक दलका नेता कार्यकर्ताहरुले नेपालको घरेलु क्रिकेटको बारेमा नसोच्दा घरेलु क्रिकेटमा आवश्यक संरचना नै तयार गर्न सकेनन्, फलस्वरुप नेपाली क्रिकेटको घरेलु संरचना कहिल्यै अगाडी बढ्न सकेन।
वर्ष भरीमा बढीमा २ महिना क्रिकेट खेल हुने अहिलेको घरेलु क्रिकेटको संरचनाले नेपाली क्रिकेटमा ठूलो क्षती पुर्याइरहेको छ।
राजधानीमा गरिने क्षेत्रिय स्तरको एउटा प्रतियोगिता र केही सीमित क्षेत्रमा सुरु गरिएको करिब एक महिनाको थोरै मात्राको व्यवसायीक प्रतियोगिताहरुले नेपाली क्रिकेट र खेलाडी दुवैलाई उज्वल भविष्यतर्फ लैजान सक्दैन। क्रिकेटलाई अब देशैभरी व्यवसायिक बनाउन जरुरी छ।
नेपाली क्रिकेटको अहिलेको संरचना अन्तर्गतका प्रादेसिक क्रिकेट टोली र केही विभागिय टोलीमा मात्र सिमित राष्ट्रिय घरेलु प्रतियोगिताले नेपाली क्रिकेटको अबको आवश्यकता पूरा गर्न सक्दैन। नेपाली क्रिकेटको अबको विकास राष्ट्रिय स्तर बाट नभइ जिल्ला स्तरबाट गर्न आवश्यक छ।
जिल्ला स्तरमा क्रिकेट
नेपाली क्रिकेटको वर्तमान अवस्थामा जिल्ला क्रिकेट संघले गर्दै आएको कार्य भनेको प्रदेश वा केन्द्रको पत्रको आधारमा सिमित खेलाडी छनौट मात्र हो। यसरी भुमिका बिहिन बनेको जिल्ला क्रिकेट संघलाई सशक्त भुमिकामा फर्काउन सकिएन भने नेपाली क्रिकेटको भावि यात्रा पक्कै सुखद हुने छैन। भविष्यको बलियो राष्ट्रिय टिमको आधार भनेकै वर्तमानको विद्यालय प्रतियोगिता हो।
जिल्ला क्रिकेट संघले गर्नैपर्ने एउटा महत्वपूर्ण प्रतियोगिता भनेको विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हो। विश्व क्रिकेट जगतकै उत्कृस्ट खेलाडी सचिन तेन्दुलकर पनि विद्यालय स्तरिय क्रिकेट बाट भारतमा चर्चित बनेका थिए जसबाट भारतले मात्र नभइ विश्व क्रिकेटले नै एक उत्कृष्ट क्रिकेटर पाएको थियो।
विद्यालय स्तरको क्रिकेटको अभावमा नेपालका कैयौँ सचिन तेन्दुलकरहरु डक्टर, पाईलट, इन्जिनियरलगायतको सपना देख्न बाध्य छन् र विस्तारै त्याे सपना पूरा गर्न विदेशीदै छन्।
बाल मस्तिस्कमा जतिबेला क्रिकेट प्रतिको लगाव अनि आफ्नो प्रदर्शनप्रतिको गौरव महसुस गर्दै राष्ट्रको लागि खेल्ने सपना बुनिनुपर्ने हो त्यस उमेरमा हाम्रा भावि खेलाडीहरु दर्शकमा मात्र सिमित छन्।
हरेक जिल्ला क्रिकेट संघले विद्यालय स्तरिय क्रिकेटको आयोजना गर्नै पर्छ। एक हप्ता वा बढिमा एक महिना संचालन गर्ने सिमित ओभरको क्रिकेट नेपालको आजको आवश्यकता होइन। शनिबार सार्वजनिक विदा रहने हाम्रोमा हरेक हप्ताको दुई दिन अर्थात शुक्रबार र शनिबार कम्तिमा एक खेल रहने गरि विद्यालय स्तरमा दुई दिवशिय क्रिकेट प्रतियोगिता संचालन गरिनुपर्छ।
यसले बाल मस्तिस्कमा त्रिकेटप्रतिको लगाव र क्रिकेटर बन्ने सपना निमार्ण मात्र नभइ सानै उमेरबाट नै म्याच सिचुएसन बुझ्ने र सोही अनुरुप आफ्नो खेल सुधार्दै लैजाने अवसर प्रदान गर्दछ।
त्यस्तै जिल्ला क्रिकेट संघले हरेक स्थानिय तह विचको तिन दिवशिय क्रिकेट प्रतियोगिता गर्नुपर्छ। स्थानिय तहहरुले खर्च गर्न नसकेर करोडौँ रुपैया फ्रिज भइरहेको छ। सोही रकम मध्येबाट आफ्नो स्थानिय तहका खेलाडीहरुलाई म्याच भत्ता तथा केही सुविधा दिने गरि हरेक स्थानिय तहले टिमको व्यास्थापन गर्न सक्छन् भने स्थानिय स्तरका प्रायोजकहरुबाट पनि केही आर्थिक सहयोग अवश्य हुन्छ जसबाट स्थानिय तहको टिम व्यवस्थापनमा जिल्ला प्रदेश वा केन्द्रमा कुनै आर्थिक भार पनि रहदैन।
यसरी बनाइएको टिमबाट हरेक हप्ता कम्तिमा एक खेल रहने गरि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गर्नुपर्दछ।
यस्ता प्रतियोगिताहरुको अभ्यास र नियमितताले नेपाली क्रिकेटको भविष्य उज्यालो बनाउन मद्दत गर्ने छ।
एकदिवशिय र टि–ट्वान्टि क्रिकेट प्रतियोगिताहरु पनि जिल्ला क्रिकेट संघले आवश्यकता अनुसार संचालन गर्दै जानु पर्दछ। विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा राम्रो संभावना देखाएका खेलाडीहरु स्थानिय तहको टिममा र त्यहाँ बाट जिल्लाको टिममा रहदै प्रदेश र राष्ट्रबाट खेल्ने बलियो संभावना रहन्छ।
प्रदेश स्तरमा क्रिकेट
जिल्ला क्रिकेट संघहरु बलियो र शसक्त भुमिकामा रहेमा प्रदेश क्रिकेट संघहरु कार्यबोझ बाट धेरै हदसम्ममा मुक्त रहनेछन् जसले गर्दा प्रादेशिक समितिहरुले सम्पूर्ण ध्यान प्रदेश स्तरिय प्रतियोगिता निमार्ण र क्रिकेट विकासको थप योजनाहरुमा केन्द्रित गर्न पाउनेछन्। प्रादेशिक क्रिकेट समितिले प्रदेश स्तरमा जिल्लाहरु विचको चार दिवशिय क्रिकेट गराउन आवश्यक रहन्छ।
जिल्ला स्तरिय प्रतियोगिता वा छनौटहरुमा प्रादेशिक समितिको लगानी नरहने वातावरण बने सँगै प्रादेशिक क्रिकेट संघले सम्पूर्ण खर्च प्रादेशिक प्रतियोगिताहरुमा र खेलाडी व्यवस्थापनमा गर्न सक्छ।
प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको आधारमा हरेक प्रदेशमा प्रदेश स्तरिय क्रिकेट टिम बन्ने नै छ जसले प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरु खेल्न आवश्यक छ। प्रदेश स्तरिय टिमको सेवा सुविधा व्यवस्थापन प्रदेश क्रिकेट संघले प्रदेश खेलकुद विकास समिति तथा प्रदेश सरकार सँगको सहकार्यमा गर्नुपर्दछ।
चार दिवशिय प्रतियोगिता सँगै प्रदेश स्तरमा जिल्लाहरु विच एक दिवशिय र टि ट्वेन्टि प्रतियोगिताहरु पनि आवश्यकता अनुसार संचालन गर्दै लैजानु पर्दछ। प्रदेश स्तरमा गरिने चार दिवशिय प्रतियोगिताहरु सकेसम्म लामो समय संचालन गरिनुपर्दछ जसले गर्दा खेलाडीहरु वर्ष भरि नै क्रिकेटमा व्यस्त रहुन्।
राष्ट्रिय स्तरमा क्रिकेट
प्रादेशिक टिमहरु बिच खेलिने गरि राष्ट्रिय स्तरको क्रिकेट नेपालको आजको आवश्यकता हो जसमा अहिले जस्तै केहि विभागिय टोलीहरुको पनि सहभागिता रहने नै छ। तर अबको राष्ट्रिय स्तरको क्रिकेट हालको जस्तै केही हप्ता भरिमा सकिने प्रतियोगिता हामीलाई आवश्यक छैन।
‘होम–अवे’ र ‘न्युट्रल भेन्यु’मा खेल्ने गरि प्रदेशहरु विच लामो समय चल्ने गरि चार दिवशिय प्रतियोगिता राष्ट्रिय स्तरमा संचालन गरिनु पर्दछ। हरेक १५ दिनमा एक खेल रहने गरि राष्ट्रिय स्तरमा यस्तो प्रतियोगिता संचालन गरिने हो भने नेपाली खेलाडीहरुले प्रशस्त अभ्यास र अनुभव प्राप्त गर्नेछन्।
चार दिवशिय क्रिकेट सँगै प्रदेशहरु बिचमा एक दिवशिय र टि ट्वेन्टि क्रिकेट प्रतियोगिताहरु नेपाल क्रिकेट संघले आवश्यकता अनुसार गर्दै लैजानुपर्दछ।
फ्रेन्चाइज क्रिकेट
पछिल्लो समयमा नेपालमा निकै लोकप्रिय बनेको क्रिकेट प्रतियोगिताहरु भनेको निजि स्तरबाट संचालित फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरु हुन्। टि- ट्रवान्टी क्रिकेटमा यसको महत्व अझ धेरै हुन्छ। केही घण्टामा नै म्याच सकिने र अत्याधिक मनोरञ्जन प्राप्त गर्न सकिने भएकाले टि ट्वेन्टि फ्रेन्चाइज क्रिकेटमा दर्शकहरुको रुची ज्यादा हुने गर्दछ।
अत्याधिक मनोरञ्जन प्राप्त गर्न सकिने भएतापनि फ्रेन्चाइज क्रिकेटबाट नेपाली क्रिकेटको विकासमा खास योगदान भने हुने छैन। नेपाल क्रिकेट संघ माथिको करिब तिन वर्षको प्रतिवन्धको समयमा निजी स्तरबाट नै यसको सुरुवात भएको भएतापनि अब भने यसप्रकारको क्रिकेटको सम्पूर्ण स्वामित्व नेपाल क्रिकेट संघले लिनु पर्दछ।
निजी स्तरबाट संचालित यस्ता फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरु खारेज गरि नेपाल क्रिकेट संघको मातहतमा रहने एक समिति निर्माण गरि वर्षमा एउटा तर भव्य टि ट्वेन्टि फ्रेन्चाइज क्रिकेट आयोजना गरिनुपर्दछ।
अहिले चर्चामा रहेका एभरेस्ट प्रिमियर लिग, धनगढि प्रिमियर लिग र पोखरा प्रिमियर लिग खारेज गरि यस लिगहरुका संचालकहरु रहने गरि नेपाल क्रिकेट संघ मातहतको समिति र यही लिगहरुको लगानीकर्ताहरुको साझा लगानीबाट आठ टिम निर्माण गरि नेपाल क्रिकेट संघले नै यसप्रकारको फ्रेन्चाइज क्रिकेट गराउने हो भने नेपाली क्रिकेटले विश्व क्रिकेटमा एउटा नयाँ उचाई पक्कै बनाउने छ।
यसरी योजनावद्ध ढङ्गले विद्यालय स्तरबाट नै लामो फम्र्याटको क्रिकेट, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा तिन दिवशिय र चार दिवशिय क्रिकेट सँगै नेपाल क्रिकेट संघको आयोजनामा हुने एउटा ठुलो र भव्य फ्रेन्चाइज क्रिकेट को संरचनामा नेपाल जाने हो भने नेपालको विश्वकप क्रिकेटको सपना सपनामा मात्र पक्कै सिमित रहने छैन।