काठमाडौं - राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गर्दै न्यूनतम पारिमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालसमक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ।
सङ्घका उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गोपाल बराइली, सङ्घका महासचिव लक्ष्मण दर्नाल, केन्द्रीय सदस्यहरु बुद्धि विश्वकर्मा, रीता बुढाथोकी र काठमाडौँ उपत्यका समितिका अध्यक्ष सुशील दर्नाल, सदस्यहरु अनिल सुनाम र गणेश विश्वकर्मा लगायतको प्रतिनिधिमण्डलले आज सञ्चारग्रामस्थित कार्यालयमा भेट गरी मिडिया हाउसले न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्दा सबैभन्दा बढी दलित समुदायका पत्रकार मारमा परेको भन्दै कार्यान्वयन गर्नुपर्ने माग गरेका हुन्।
सोही अवसरमा अध्यक्ष अर्यालले पत्रकारको तोकिएको पारिश्रमिकलाई अहिलेको समयअनुसार पुनःअवलोकन गर्दै त्यसलाई व्यावहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि सरकार, मिडिया सञ्चालक र पारिश्रमिक निर्धारण समितिबीच समन्वय हुन जरुरी छ, त्यसका लागि समितिले पहल गर्नेछ।” अध्यक्ष अर्यालले दलित समुदायका पत्रकारको क्षमता विकासका लागि समितिले सङ्घसँग सहकार्य गर्ने पनि प्रतिबद्धता व्यक्त गरे।
सङ्घले प्रस्तावित संविधानको मौलिक हकमा उल्लेख अभिव्यक्ति तथा पूर्ण प्रेस स्वतन्त्रतताको व्यवहारतः कार्यान्वयन गर्नुपर्ने, दलित समुदायमा मानवअधिकारको प्रत्याभूति गराउनुपर्ने, दलित समुदायद्वारा सञ्चालित सञ्चारमाध्यमलाई राज्यद्वारा विशेष सुविधा प्रदान गरी कर मिनाहसम्मको नीति ल्याउनुपर्नेसमेत माग गरेको छ।
राष्ट्रिय दलित पत्रकार सङ्घ देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन हो। सङ्घमा देशभरका दुई हजार दलित समुदायका पत्रकार आबद्ध छन्। सङ्घको हालसम्म ६० जिल्ला शाखा छन् भने सातवटा प्रदेशमा प्रदेश समिति छन्। रासस