एजेन्सी– विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुकको सुचीमा इटाली दोस्रो नम्बरमा पुगेको छ। पछिलो समयमा सबैभन्दा बढी प्रभावित राष्ट्र चीनका नागरिक नोवल कोरोना भाइरसको संक्रमणबाट धेरै निको भएका छन् भने इटालीमा यसको संक्रमण तिब्र रुपमा फैलिरहेको छ।
इटालीमा २४ घण्टामा २ सय ५० जनाको मृत्यु भएसंगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय २६ पुगेको छ भने १७ हजार ६ सय ६० जना संक्रमित छन्। त्यस्तै शुक्रबारमात्र २ हजार ५ सय ४५ जनामा कोरोनाको संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। हाल इटालीमा कोरोना भाइरसको बिरामीहरु १४ हजार ९ सय ५५ जना छन्। त्यसमध्ये १३ हजार ६ सय २७ जनाको अवस्था सामान्य छ भने १ हजार ३ सय २८ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ।
त्यस्तै १ हजार ४ सय ३९ जना निको भएर घर फर्किसकेको पनि तथ्यांकमा देख्न सकिन्छ। चीनको हुबेई प्रन्तको वुहान शहरबाट शुरु भएको नोवल कोरोना भाइरसका बिरामीहरु निको हुनेको संख्या बढे पनि अहिले पनि चीन नै प्रभावित राष्ट्रको पहिलो नम्बरमा रहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको केन्द्रविन्दु (इपिसेन्टर) अब युरोप भएको चेतावनी दिएको छ।
‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु हो’, विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भने, ‘मानिसहरुको जीवन बचाउन आक्रामक उपाय अबलम्बन गर्न जरुरी छ। यो भयानक आगो फैलन दिनु हुँदैन।’
चीनमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण १३ जनाको मृत्यु हुँदा अन्यत्र ४ सय ४२ जनाको मृत्यु भएको छ। ४ सय ४२ जनामध्ये अधिकांश युरोपकै छन्। त्यस्तै त्यसैगरी स्पेन, फान्स, जर्मनीमा पनि कोरोनाको माहामारी निकै फिजिएको देखिएको छ।
हालसम्म चीनमा ३ हजार १ सय ८९ जना चिनिँया नागरिकले कोरोनाबाट ज्यान गुमाइसकेका छन् भने ८० हजार ८ सय ३४ जना संक्रमित छन्। ६५ हजार ५ सय ४६ जनाको स्वमस्थ्यमा सु्धार आएको छ। विश्वको १ सय ४५ वटा मुलुकमा फैलिएको कोभिठ १९ भाइरसको कारणबाट हालसम्म ५ हजार ४ सय ३६ जनाको मृत्यु भएको छ भने एक लाख ४५ हजार ६ सय ३७ जना संक्रमित छन्।