जनकपुरधाम– प्रदेशसभाको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिने क्रममा शुक्रबार सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच बाझाबाझ भएको छ। चालुआर्थिक वर्षमा प्रदेश २ सरकारद्धारा उपभोक्ता समितिमार्फत प्रदेशभर गराइएका विकास निर्माणका कामको ८६ करोड भुक्तानी नभएको विषयमा मुख्यमन्त्रीले जवाफ दिइरहेका थिए।
सम्बोधनमा समस्याको निकासभन्दा पनि विषयवस्तुको विश्लेषण बढी हुन थालेपछि प्रतिपक्षी दल नेकपाका सांसद आक्रोशित बनेका हुन्। ‘भूमिका नबाँध्नुस्, भुक्तानीको ढिलाइको कारण के हो सिधासिधा भन्नुस्’, नेकपा सांसद रामचन्द्र मण्डलले मुख्यमन्त्री राउतलाई भने। उनले बोलिसक्न नपाउँदै सत्तापक्ष समाजवादी पार्टीका तर्फबाट राज्यमन्त्री योगेन्द्र राय यादव मुख्यमन्त्रीले बोल्न पाउनुपर्छ भनेर चर्किए।
त्यसपछि सत्तापक्ष र प्रतिपक्षबीच केहीबेर आरोप प्रत्यारोपको दोहोरी नै चल्यो। यता, सभामुख सरोजकुमार यादव र मुख्यमन्त्री राउतले पटकपटक सांसदलाई शान्त भई बस्न अनुरोध गरेपछि उनीहरू शान्त भए र मुख्यमन्त्रीले पुनः जवाफ दिए। ‘मैले केही गरिनँ भनेर तपाईहरूले प्रश्न उठाएकै कारण मैले आफ्नो तर्फबाट गरेका प्रयासबारे जानकारी गराउन खोजेको थिएँ’, मुख्यमन्त्री राउतले भने, ‘मुख्यमन्त्री वा मन्त्रीले चेकमा हस्ताक्षर गरेर भुक्तानी हुने होइन, कर्मचारीले सहयोग नगरेकै कारण यस्तो अवस्था आएको हो।’
संघीय सरकारबाट आएका कर्मचारीले संघीयतालाई डुबाउन भुक्तानीमा असहयोग गरेको मुख्यमन्त्रीको आरोप थियो। ‘कर्मचारीले मेरो कुरा मानेनन् मन्त्रिपरिषद् र प्रदेशसभाको निर्णयलाई टेरेनन्। यस्तो अवस्थामा मैले नैतिक जिम्मेवारी लिनैपर्छ’, उनले भने, ‘अब एउटै उपाय छ, यस्ता कर्मचारीको विरोधमा जनकपुरको कुनै पनि चोकमा गएर धर्ना बस्न तयार छु। सहयोग गर्नुस्।’ मुख्यमन्त्रीको जवाफ माग्दै पछिल्लो तीन महिनादेखि सांसदले सदन अवरुद्ध गर्दै आएका थिए। प्रदेशसभाको अर्को बैठक शनिबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।
कोरोनाको त्रास
विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको बेला प्रदेश २ को प्रदेशसभा बैठकमा पनि यसको प्रभाव देखिएको छ। महामारीको रूप लिएपछि संक्रमण न्युनीकरणका लागि भएको तयारीका विषयमा अधिकांश सांसदले प्रदेश सरकारसँग जवाफ माग गरेका छन्।
सभाको शुक्रबार बसेको बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सांसदहरू सरस्वती चौधरी, प्रह्लाद गिरी, आशियादेवी थरुनीलगायत मास्क लगाएरै सहभागी भएका थिए। विशेष समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीकी सांसद ज्वाला साहले कोरोनाबाट जोगिन प्रदेश सरकारसँग कुनै योजना नरहेकोमा चिन्ता व्यक्त गरिन्। ‘कोरोनाको त्रास जनतामा छ तर सरकार कानमा तेल हालेर सुतेको छ’, साहले भनिन्।
समाजवादी पार्टीका सांसद पारसप्रसाद साहले नेपाल जस्तो गरिब मुलुकमा कोरोनासँग बच्न सचेतना र सर्तकता बाहेक अरू केही गर्न नसकिने तर्क गरे। राष्ट्रिय जनता पार्टी नेपालकी सांसद रानी शर्मा तिवारीले कोरोनाको बारेमा फैलाइएका अफवाहले जनतामा डर सिर्जना गरेको बताइन्। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कोरोनाबारे गलत अफवाह फैलाउनेलाई रोक्न सरकार अग्रसर हुनुपर्दछ’, सांसद् तिवारीले भनिन्।
कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले कोरोनाको त्रासदी भएको बेला सदन सुचारुगर्नसमेत चुनौती रहेको बताए । सांसदले सरकारलाई प्रदेशका प्रत्येक अस्पतालमा हेल्प डेस्क राख्न र प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको टोली राखेर यसलाई रोक्न उच्च सतर्कता अपनाउन अनुरोध गरेका थिए। सदनबाट उठेका प्रश्नमा केन्द्रित हुँदै सभामुख सरोजकुमार यादवले विश्वमै स्वास्थ्य चुनौती बनेर आएकाले फैलिन नदिन सर्तकता अभियान चलाउन सरकारलाई निर्देशन दिए।