बागलुङ– कक्षाकोठा निर्माण गर्न नसक्दा बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा रहेको कञ्चनापुर आधारभूत विद्यालयको पठनपाठन प्रभावित हुने भएकोे छ। कक्षा ७ सम्म पठनपाठन सञ्चालन भइरहेको विद्यालयमा बार्षिक परीक्षा चलिरहेको छ। नयाँ शैक्षिकसत्रसँगै कक्षा ८ सञ्चालन गर्नुपर्ने भए पनि कक्षाकोठा अभाव रहेको विद्यालयले जनाएको छ।
विसं २०३६ देखि सञ्चालनमा रहेको विद्यालयले विसं २०७५ देखि कक्षा ६ र चालू वर्षदेखि कक्षा ७ को पठनपाठन सञ्चलान गरिरहेको छ। ‘कक्षा ८ सञ्चालनको आवश्यकता छ तर कक्षाकोठा चुनौती बन्नेभो’, विद्यालयका प्रधानाध्यापक पुनराम गिरीले भने, ‘भवन नै छैन कक्षाकोठा कसरी व्यवस्थापन गर्नु।’ नयाँ खुल्ने कक्षाको लागि समस्या देखापरेको र तत्कालै दुई कोठाको भवन चाहिएको उनले बताएका छन्।
‘विद्यालयकै एउटा कोठामा बालशिक्षा सञ्चालित छ, हामीसँग अब एउटा पनि कोठा छैन’, उनले भने, ‘आउने शैक्षिकसत्रदेखि त भुँइमै राखेर पढाउनुबाहेक विकल्प छैन।’ विद्यालयमा १ सय ४२ छात्रछात्रा पढ्छन्। चालू आवमा शिक्षा तथा समन्वय एकाइ र गाउँपालिकाको सहयोगमा चारकोठे भवन सम्पन्न भएको छ। अहिले विद्यालयमा आठ मात्र कक्षाकोठा छन्।
कक्षा कोठा थप गर्नका लागि स्थानीय पालिका, प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद शेरचनले बताएका छन्। ‘स्रोतको अभावले पूर्वाधारको अवस्था उदेकलाग्दो छ’, उनले भने, ‘शैक्षिक सामग्री भुइँमा राख्नुपर्ने अवस्था छ।’ साविक सिसाखानी गाविस वडा नं ७, ८ र ९ मा पर्ने सो क्षेत्रमा दलित समुदायको बाहुल्यता रहेकाले त्यहाँको चेतनास्तर वृद्धिका लागि शैक्षिक विकास गर्न जरुरी रहेको उनको भनाइ छ। कोठा अभावमा पढाइ प्रभावित हुन नहुने अभिभावक बताउँछन्। (रासस)