एजेन्सी– अमेरिकाले विप्लव समूहका कुमार पौडेलको गैरन्यायिक हत्या गरिएको आरोप लगाएको छ। नेपालमा राजनीतिक पूर्वाग्रह राखेर हत्या तथा मानवअधिकार उल्लंघनका घटना बढेको दाबी गर्दै अमेरिकाले पौडेल हत्या गैरन्यायिक रहेको जनाएको हो।
मार्च ११ मा अमेरिकी विदेशमन्त्री माइक पम्पेओले सार्वजनिक गरेको २०१९ को मानवअधिकार अभ्यास प्रतिवेदनमा अमेरिकाले यस्तो आरोप लगाएको हो। सर्लाहीमा माओवादीबाट अलग भएको विप्लव नेतृत्वको पार्टीका स्थानीय नेता कुमार पौडेलको हत्यालाई प्रहरीले जवाफी कारवाही भने पनि राष्ट्रिय मानव अधिकार आयोग, एड्भोकेसी फोरमलगायतका संघ संस्थाले इन्काउन्टर नाटकीय भएको बताइरहँदा सेप्टेम्बरसम्म कुनै पनि अधिकारीहरुलाई कारवाहीको दायरामा नल्याइएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा नेपालमा २०७४ मा सम्पन्न निर्वाचनमा निर्वाचन आयोगले अपारदर्शी काम गरेको पनि उल्लेख छ। नेपालमा गैरन्यायिक हत्या, कानुनभन्दा माथि उठेर हत्या, यातना तथा पक्राउका घटना बढेको उल्लेख छ। यसमा सरकार प्रत्यक्ष संलग्न रहेको किटानी गरिएको छ।
वेबसाइटहरु बन्द गर्नु, गालिबेइज्जती कानुन, शान्तिपूर्ण ढंगबाट सभा सम्मेलन गर्न पाउने अधिकारको कटौती, गैरसरकारी संस्थामाथिको बन्देज, तिब्बती शरणार्थीहरुको गतिविधिमा बन्देज, भ्रष्टाचारको बढोत्तरीजस्ता घटनालाई मानव अधिकार उल्लंघन मानिएको छ।
सरकारी अनुसन्धान पारदर्शी नभएको र संलग्न अधिकारीलाई कानुन उल्लंघनमा जिम्मेवार नबनाइएको पनि उल्लेख छ। ‘नागरिक प्रदर्शनहरुमा अधिक शक्ति प्रयोग गर्ने सुरक्षा अधिकारीलाई न त जवाफदेही बनाइएको छ न त द्वन्द्वका समयमा मानवअधिकार उल्लंघन गर्नेलाई नै,’ प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनमा प्रहरी इन्काउन्टरमा भक्तपुरमा मारिएका ११ वर्षीय निशान खड्कालाई अपहरण गर्ने दुई जनाको हत्याको घटना पनि टुंगो नलागेको समावेश छ। कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा १३ वर्षीय बालकको मृत्यु तथा २४ जना घाइते भएको घटनामा संलग्नलाई कारवाही नभएको पनि जनाइएको छ।
द्वन्द्वकालमा वेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजनिक हुन नसकेको भन्दै नेपालमा पछिल्लो समय गैरन्यायिक पक्राउका घटना बढेको प्रतिवेदनमा उल्लेख छ।