कास्की– १८औं संस्करणको आहा रारा गाेल्डकपकाे उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेकाे छ। शनिबार भएकाे फाइनल खेलमा विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै मनाङ च्याम्पियन बनेकाे हाे।
यससँगै मनाङ आहा रारा गोल्डकप बढी जित्ने क्लब बनेको छ। मनाङले योसँगै हालसम्म ६ पटका उपाधि जितेकाे छ। निर्धारित समयमा खेल गाेलरहित बराबरीमा सकिएकाे थियाे। त्यसपछि अतिरिक्त समयमा धकेलिएकाे खेलमा पुनः गाेल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएकाे थियाे।
पेनाल्टीमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी र सुरज विके र रन्जन विष्टले गोल गरे। पुलिसका भोलानाथ सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले गोल गरे। पुलिसका तेज तामाङ र अजित भण्डारीले गोल गर्न सकेनन्। च्याम्पियन बनेसँगै मनाङले १० लाख १ हजार रुपैया हात पारेको छ। दोस्रो भएको पुलिसले ५ लाख १ हजार रुपैयामा पायाे।