एजेन्सी – कोरोना संक्रमणको कारण संसार नै तनावमा रहेको बेला बेलायतमा एक नवजात शिशुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। उनी संसारकै सबैभन्दा कम उमेरको कोरोना संक्रमित शिशु बनेका छन्।
बच्चाकी आमालाई निमोनियाको लक्षण देखिएपछि केहि दिन अगाडी नर्थ लन्डनको अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनलाई कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ। बच्चाकी आमाको उत्तर मिडिलसेक्स अस्पताल, एनफील्डमा कोरोनाको सकारात्मक परीक्षण गरियो। बच्चाको जन्मपछि उनमा पनि कोरोनाको परिक्षण गर्दा संक्रमण देखिएको बेलायत प्रसिद्ध अखबार दि गार्डियनले जनाएको छ।
आमा र नवजात शिशुमा कोरोना भाइरस देखिएपछि उनीहरुको उपचारमा संलग्न नर्सलाई समेत क्वारेन्टाइनमा राखिएको राष्ट्रिय स्वास्थ्य ट्रष्ट बेलायतले जनाएको छ।
के गर्भमै कोरोना संक्रमण हुनसक्छ ?
चिकित्सकहरुले गर्भ मै पनि बच्चालाई कोरोनाको सङ्क्रमण हुनसक्ने वा नसक्नेमा द्विविधामा छन्। यसअघि यस्तो सम्भव नहुने धारणा थियो। बच्चा भाइरसको सम्पर्कमा कसरी आए भनेर जान्न खोजिरहेका छन्। बच्चालाई त्यही अस्पतालमा राखेर आमालाई अर्को अस्पतालमा लगिएको छ।
अहिलेसम्म आमा र बच्चा दुवैजनालाई सामान्य संक्रमण मात्र छ। उनीहरुमा साधारण लक्षणहरु देखिएका छन्। यसकारण आमाले बच्चालाई दूध पिलाउन सक्छिन्। बेलायतमा कोरोनाको त्रासले सडक सुनसान बन्न थालेको छ। बेलायत सरकारले विद्यालय बन्द गरि सबैलाई घरमा रहन सुचना दिएको छ।अहिलेसम्म डेढ लाख भन्दा माथि मानिसमा कोरोना संक्रमण भेटिएको छ भने करिब ६ हजार मानिस यो रोगले ज्यान लिइसकेको छ।