एजेन्सी– भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि विभिन्न राज्यका सरकारहरुले सिनेमा हलहरु बन्द गर्ने निर्णय गर्न थालेका छन्। कोरोना संक्रमितकाे बढ्दो संख्याको कारणले शनिबार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठकरले सबै सिनेमा हल बन्द गर्न निर्देशन दिएका हुन्।
उनले मुम्बई, नयाँ मुम्बई, ठाणे, पुणे र नागपुरका सम्पूर्ण सिनेमाघर बन्द गर्न आदेश दिएका छन्। त्यस्तै महराष्ट्र सरकारले जिम हल, स्वीमिङ पुल र थियटरहरु पनि बन्द गर्न आदेश दिएको छ। साथै सर्वसाधारणलाई भीडभाड नगर्न आह्वानसमेत गरिएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मार्च ३१ तारिखसम्म दिल्लीका सबै सिनेमा हलहरु बन्द गर्ने घोषणा गरेका छन्। दिल्लीका सबै सिनेमा हल बन्द हुँदा विशेषगरि एक साता अगाडिबाट रिलिज भैरहेको नायक टाइगर श्राफको फिल्म ‘बाघी ३’ को व्यापार प्रभावित भएकाे छ। यस्तै, १२ मार्च मा रिलिज भएको हिन्दी फिल्म ‘अंग्रेजी मिडियम’ को व्यापार पनि प्रभावित भएकाे छ।