एजेन्सी– चीनको वुहान शहरबाट शुरु भएको नाेवल काेराेना भाइरसकाे संक्रमण १ सय ५३ मुलुकमा फैलिएको छ। यसबाट हालसम्म ५ हजार ८ सय ३९ जनाको मृत्यु भइसकेको छ भने १ लाख ५६ हजार ८ सय जना संक्रमित छन्। यसैबीच केही सेलिब्रिटिहरु पनि नोवल कोरोना भाइरसको शिकार बनेका छन्।
१) पउलो डिबालाः युभेन्टसबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन् चर्चित फुटबलर पउलो डिबाला कोरोनाको शिकार भएका छन्। उनले मार्च १३ शुक्रबार आफु ठिक रहेको र क्वारेन्टाइनमा रहेको सामाजीक सञ्जालमार्फत जानकारी दिएका थिए।

२) डानिला रुगानीः डानिला रुगानीमा यसै साता मात्र कोभिड १९ को संक्रमण रहेको पुष्टी भएको छ। उनले डिबालासंग चेन्जीङ रुम शेयर गरेर संक्रमण भएको बताइएको छ।

३) रुडी गोर्भडः फ्रान्सका बास्केटबल खेलाडी रुडी गोर्भडका पनि कोरोना संक्रमण भएको पाइएको छ। मार्च ११ बुधबार उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएकाे हाे।

४) डोनोभान मिटचेलः रुडी गोर्भडलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको भोली पल्ट (बिहिबार) नै बास्केटबल खेलाडी डोनोफा मिटचेलमा पनि कोरोनाकाे संक्रमण लागेको पत्ता लागेको हो।

५) माइकल आर्टेटाः फुटबल क्लब आर्सनलका कोच माइकल आर्टेटा पनि कोरोना भाइरस संक्रमितमध्ये एक हुन्। मार्च १२ मा कोच आर्टेटालाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको जानकारी आर्सेनलकै वेवसाइटमार्फत दिइएकाे थियाे। योसँगै इङ्ग्लिस प्रिमियर लिग (इपीएल) अप्रिल ३ सम्मका लागि स्थगित गरिएको छ।

६) फ्रान्सका संस्कृती मन्त्री फ्रान्क राइस्टरः मार्च ९ मा फ्रन्सका संस्कृती मन्त्री फ्रान्क राइस्टरमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो। स्वस्थ्य अवस्था बिग्रिएपछि परिक्षण गराउने क्रममा मन्त्री राइस्टरमा कोरोना भाइरस पोजेटिभ भएको रिर्पोट आएको हो।

७) टोम हांक्स र रिता वील्सनः मार्च १२ मा टोम हांक्स र उनकी पत्नी रिता वील्सनलाई काेरोना संक्रमण भएको सामाजीक सञ्जालमार्फत उनीहरूले नै जानकारी दिएका थिए। त्यसबेला ६३ वर्षिय हांक्स र वील्सन दुबै अस्ट्रेलियाकाे गोल्ड कोस्टमा निर्देशक बाज ल्हुर्मानसँग एउटा फिल्मको सुटिङ गरिरहेका थिए।
