काठमाडौं– सन् १९५० को दशकबाट इन्टरनेटको विकास हुन थाल्यो। त्यहि समय कम्प्यूटर नेटवर्क प्रणलीको पनि आविष्कार हुँदै गयो। त्यसै क्रममा सन् १९८२ मा आएर टिसिपी–आईपी (TCP-IP) मापदण्ड तोकिएसँगै इन्टरनेटको जन्म भयो। त्यो बेला इन्टरनेटको पहुँच केवल वैज्ञानिक, प्रध्यापक, इन्जिनियर तथा विश्वविद्यालयहरुमा मात्र सिमित थियो।
विस्तारै सुचना आदान प्रदानको एक भरपर्दाे स्रोत बन्न पुगेको इन्टरनेटले सन् १९९० को दशकमा आएर पूर्ण व्यवसायिकरणको रुप लियो। नेपालमा सर्वप्रथम सन् १९९३ मा रोनास्ट र मर्कन्टाइलको पहलमा इन्टरनेटको शूरुवात भएको थियो।
शीतयुद्धकालिन परिस्थितिमा एक स्थानबाट अर्को स्थानमा भरपर्दो तरिकाले सूचना पठाउने र पाउने उद्देश्यका साथ परिकल्पना गरिएको इन्टरनेट प्रविधि आज एक अपरिहार्य पूर्वाधारको रुपमा परिणत भएको छ। सन् २००० को दशक यता जति पनि सूचना प्रविधिको क्षेत्रमा क्रान्तिकारी परिवर्तन तथा विकास भयो, त्यसको पछाडी इन्टरनेटको असिमित भूमिका रहँदै आएको छ। शिक्षा, सञ्चार, मनोरञ्जन, स्वास्थ्य तथा यातायातको क्षेत्रमा अभिन्न अङ्गको रुपमा प्रयोग हुँदै आएको इन्टरनेट कतिपय देशहरुमा मानव अधिकारकै आधारभूत तत्वको रुपमा लिइएको छ।
फिनल्याण्ड, कोस्टारिका, क्यानाडा, एस्टोनिया, फ्रान्स र स्पेनको संविधानले इन्टरनेट सेवालाई मानव अधिकारअन्तरगत राखेका छन्। यसका साथै छिमेकी राष्ट्र भारतले पनि इन्टरनेटलाई नागरिकहरुको मौलिक अधिकारको रुपमा लिएको छ। भारतको केन्द्र सरकारले करिब ६ महिनासम्म जम्मु कश्मिरमा लगाएको इन्टरनेटमाथिको प्रतिबन्धलाई त्यहाँको सर्वोच्च अदालतले अनुचित रहेको ठहर गरेको थियो।
सन् २०२० को जनवरी १० मा भारतीय सर्वोच्च अदालतले संविधानको धारा १९ को ब्याख्या गर्दै इन्टरनेटमाथि कुनै पनि प्रतिबन्ध लगाउन नपाइने फैसला सुनाएको थियो। फैसलामा भनिएको छ, “इन्टरनेट नागरिकहरुको अभिव्यक्तिको अधिकार अन्तरगत पर्छ, यसलाई लामो समयसम्म प्रतिबन्ध लगाउन मिल्दैन।”
सन् २०२० को मार्च महिनासम्म आइपुग्दा विश्वको जनसंख्या झण्डै ८ अर्ब पुगेको छ। यसमध्ये झण्डै आधा भन्दा बढि जनसंख्याले इन्टरनेटको प्रयोग गर्छन्। इन्टरनेशनल टेलिकम्युनिकेशन यूनियन (आईटीयू)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, विश्वमा इन्टरनेट प्रयोग गर्नेहरुको सङ्ख्या करिब ४ अर्ब ५४ करोड छ।
यो सँगै विश्वको कुल जनसंख्याको करिब ५९ प्रतिशत जनसंख्या इन्टरनेटमा जोडिएका छन्। चीन, भारत र अमेरिका सबैभन्दा बढी इन्टरनेट प्रयोग गर्ने राष्ट्रहरु हुन्। जनसंख्याको हिसाबले चीन अग्रस्थानमा पर्छ भने भारत दोस्रो स्थानमा छ। जनसंख्या वृद्धिको अनुपात हेर्ने हो भने सन् २०३० सम्ममा भारतले चीनलाई उछिन्ने अनुमान समेत गरिएको छ।
झण्डै १ अर्ब ४४ करोड जनसंख्या रहेको चीनमा ८५ करोड ४० लाख अर्थात करिब ५९.३ प्रतिशत मानिसले इन्टरनेटको प्रयोग गर्छन्। झण्डै २० बर्षअघि अर्थात् सन् २००० मा चीनको जनसंख्या करिब १ अर्ब २८ करोड ३१ लाख हुँदा इन्टरनेट प्रयोग गर्नेहरुको सङ्ख्या मात्र २ करोड २५ लाख थियो। त्यस बेला सबैभन्दा बढी इन्टरनेट प्रयोग गर्ने राष्ट्रहरुको सूचिमा चीन तेस्रो स्थानमा थियो। पहिलो स्थानमा अमेरिका थियो भने दोस्रो स्थान जापानले ओगटेको थियो।
त्यसैगरी दोस्रो स्थानमा रहेको भारतमा हाल १ अर्ब ३८ करोड जनसंख्या रहेको अनुमान गरिएको छ। त्यस मध्ये करिब ५६ करोड अर्थात कुल जनसंख्याको करिब ४०.९ प्रतिशत मानिसले इन्टरनेट प्रयोग गर्छन्। सन् २००० मा भारतकाे कुल जनसंख्या १ अर्ब ५ करोड ३० लाख हुँदा ५० लाख मानिसहरुले इन्टरनेटको प्रयोग गर्थे।
बीस वर्षअघि अर्थात् सन् २००० मा विश्वकाे सबैभन्दा बढी इन्टरनेट प्रयोग गर्ने नागरिक रहेको राष्ट्रहरुको सूचिमा पहिलो स्थानमा रहेको अमेरिका अहिले तेस्रो स्थानमा झरेको छ। करिब ३३ करोड १ लाख जनसंख्या रहेको अमेरिकामा अहिले २९ करोड २८ लाख नागरिकले इन्टरनेटको प्रयोग गर्छन्।
चीन र भारतको तुलनामा अमेरिकामा इन्टरनेट प्रयोग गर्ने नागरिकको संख्या कम भएपनि जनसंख्याको अनुपात हेर्ने हो भने यो संख्या सबैभन्दा उच्च हो। आईटीयुको रिपोर्ट अनुसार, अमेरिकामा करिब ९० प्रतिशत भन्दा बढी जनसंख्यामा इन्टरनेटको पहुँच रहेको छ। सन् २००० मा नै अमेरिकामा कुल जनसंख्या करिब २८ करोड १९ लाख हुँदा करिब ९ करोड ९३ लाख अर्थात् ३५ प्रतिशत नागरिकले इन्टरनेट प्रयोग गर्दथे।
त्यसैगरी सन् २००० मा दोस्रो स्थानमा रहेको जापान अहिले सातौँ स्थानमा झरेको छ। त्यहाँ जनसंख्या पनि क्रमिक रुपमा घट्दै गईरहेको छ। सन् २००० मा जापानको जनसंख्या १२ करोड ७५ लाख थियो भने हाल १२ करोड ६४ लाखको हाराहारीमा झरेको छ।
तथ्याङ्क अनुसार बीस बर्ष अघि जापानमा इन्टरनेट प्रयोगकर्ताको संख्या करिब ४ करोड ७० लाख थियो। हाल यो संख्या बढेर ११ करोड ८६ लाखमा पुगेको छ। यो सँगै जापानको कुल जनसंख्याको ९० प्रतिशत भन्दा बढी जनसंख्या इन्टरनेटमा जोडिएका छन्।
कस्तो छ नेपालमा इन्टरनेट प्रयोगको अवस्था ?
नेपालमा पनि पछिल्लो केहि वर्षमा इन्टरनेटको विस्तार तथा प्रयोग निकै बढेको छ। इन्टरनेट वर्ल्ड स्ट्याट्स (Internet World Stats) ले सार्वजनिक गरेको २०२० जनवरीको प्रतिवेदन अनुसार देशको जनसंख्या र त्यसको आधारमा देशमा इन्टरनेटको पहुँचलाई हेर्दा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) मा रहेका राष्ट्रहरु मध्ये नेपाल तेस्रो स्थानमा पर्छ।
उक्त प्रतिवेदन अनुसार, नेपालको कुल जनसंख्याको करिब ५५.७ प्रतिशतमा इन्टरनेटको पहुँच रहेको छ। पहिलो स्थानमा रहेको माल्दिभ्समा कुल जनसंख्याको ६८.४ प्रतिशतले इन्टरनेट प्रयोग गर्दछन् भने दोस्रो स्थानमा रहेको बंगलादेशमा करिब ५७.२ प्रतिशत जनसंख्यामा इन्टरनेट पुगेको छ।
जनसंख्याको अनुपातमा इन्टरनेट पहुँचको विश्लेषण गर्दा सार्क राष्ट्रहरु मध्ये भारत पाँचौं स्थानमा पर्छ। भारतको कुल जनसंख्याको ४०.९ प्रतिशत नागरिकमा इन्टरनेटको पहुँच पुगेको छ। जबकी भुटानमा कुल जनसंख्याको ४८.१ प्रतिशतमा इन्टरनेट पुगेको छ। यसैगरी पाकिस्तानमा ३२.४ प्रतिशत र अफगानिस्तानमा १९.७ प्रतिशत नागरिकमा इन्टरनेट पुगेको इन्टरनेट वर्ल्ड स्ट्याट्सको तथ्याङ्कमा उल्लेख छ।
प्रतिवेदन अनुसार एसियामा कुल जनसंख्याको ५४ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा रहेका छन्। एसियामा इन्टरनेट प्रयोगकर्ताको कुल जनसंख्या मध्ये २४.३ प्रतिशत भारतले ओगटेको छ। त्यस्तै ४.२ प्रतिशत बंगलादेश, ३.१ प्रतिशत पाकिस्तान र ०.७ प्रतिशत नेपालले ओगटेको छ। यस आधारमा पछिल्लो पाँच वर्षमा नेपालमा इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ र सन् २०२३ सम्ममा नेपालमा इन्टरनेट प्रयोगकर्ता ठूलो मात्रामा बढ्ने अनुमान समेत गरिएको छ।
इन्टरनेटको दुनियामा महिलाको स्थान
इन्टरनेशनल टेलिकम्युनिकेशन यूनियन (आईटीयू)का अनुसार विश्वको कुल पुरुष जनसंख्याको ५८ प्रतिशत पुरुष इन्टरनेटमा जोडिएका छन् भने कुल महिला जनसंख्याको ४८ प्रतिशत महिलाहरूले इन्टरनेट प्रयाेग गर्दछन्। हाल विश्वमा पुरुषको जनसंख्या करिब ३ अर्ब ९२ करोड र महिलाको संख्या ३ अर्ब ८५ करोड रहेकाे आनुमान गरिएकाे छ।
तथ्याङ्कको आधारमा विश्वका आधा भन्दा बढि महिलाहरू अझै पनि इन्टरनेट दुनियाबाट बाहिर छन्। त्यस्तै अमेरिका बाहेक अन्य देशहरुमा इन्टरनेट प्रयोग गर्नेहरु मध्ये पुरुषकै संख्या उच्च रहेको छ। विशेष गरी कम प्रतिव्यक्ति आय भएका मुलुकमा डिजिटल प्रविधिमा महिला र पुरुष बिच ठूलो भिन्नता देखिएको छ।
जुन भिन्नता पछिल्लो समयमा अझै बढ्दै गइरहेको आईटीयूको प्रतिवेदनमा उल्लेख छ। यद्यपी अमेरिकामा भने सन् २०१३ पश्चात इन्टरनेट प्रयोगमा भएको लैङ्गीक भिन्नता सून्य जस्तो नै रहेको छ।