भोजपुर– जिल्ला अदालतले हत्या गरेको अभियोगमा दुईजनालाई जन्मकैदको फैसला सुनाएको छ। अदालतले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भीमबहादुर कार्कीलाई जन्मकैदको फैसला गरेको हो।
अभियुक्तद्वयले गत साउन ८ गते खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी घर भएकी ४८ वर्षीया भइमाया राई–गुरुङ को कुटपिट गरी हत्या गरेको अदालतले जनाएको छ। उनीहरुलाई जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ को उपदफा १ विपरीतको कसुर गरेबापत सोही ऐनको १७७–२ बमोजिम जन्मकैद र जाहेरवाला डम्बर गुरुङलाई प्रतिवादीबाट जनही रु ५० हजार क्षतिपूर्ति भराउने समेत फैसला भएको अदालतले जनाएको छ।
उनीहरुले सामान्य विवादपछि उल्टो पट्टिबाट खुकुरी प्रहार गरी घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले हत्या गरेको आठ दिनपछि गत साउन १६ गते पक्राउ गरेको थियो। रासस