दमाैली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको छ।
अस्पतालमा २० श्ययाको आइसोलेसन कक्ष निर्माणको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिएका छन्। ‘अस्पतालको भवनभित्र एउटा कोठामा आइसोलेसन कक्ष निर्माण भइरहेको छ’, उनले भने, ‘केही दिनभित्रै सबै काम सकिन्छ।’
सो कक्षमा सो भाइरसका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइने निर्देशक डा श्रेष्ठले जानकारी दिएका छन्। कोरोनाको विश्वव्यापी सङ्क्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारीस्वरुप आइसोलेसन कक्ष स्थापना गरिएको बताइएको छ।
गण्डकी प्रदेश सरकारले यहाँसहित पोखराका पाँच अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरेको छ। पोखराका चार अस्पतालमा ७० श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ। मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक अस्पतालमा ३० र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० श्ययाको आइसोलेसन कक्ष स्थापना भएको बताइएको छ। रासस