एजेन्सी– विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण अनलाइन स्ट्रिमिङ्ग कम्पनीहरु नेटफ्लिक्स र डिज्नीले आफ्नो फिल्म तथा टिभी कार्यक्रमलाई रोकेका छन्।
नेटफ्लिक्सले अमेरिका र क्यानाडा दुबै देशहरुमा यसको फिल्म र टिभी शो प्रडक्सन आगामी दुई हप्तासम्मका लागि राेक्ने जानकारी दिएको छ। साथै डिज्नीले द लिटिल मर्मेड सहितका केही लाइभ एक्शन चलचित्रहरूकाे निर्माण स्थगित गरेकाे छ।
कोरोना भाइरसको निरन्तर फैलावटका कारण चलचित्र ताथ मनोरन्जन क्षेत्रमा ठूलो संकट छाएको छ। याेसँगै दुबै कम्पनीहरुका महत्वपूर्ण फिल्महरु र टिभी शोहरु प्रभावित भएका छन् भने नयाँ उत्पादित फिल्महरुको रिलिज मिति समेत अन्याेलमा परेका छन्।
यसअघि नै अर्को फिल्म प्रडक्सन कम्पनी वानर ब्रदर्सले कलाकार टम ह्यांक्स र रीता वील्सनलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि आफ्नो सबै प्राेडक्सन बन्द गरेको थियो।
नेटफ्लिक्स एक मिडिया सर्भिस प्रदायक तथा निर्माता कम्पनी हो। यसको मुख्यालय अमेरिकाको लास एन्जेलसमा रहेको छ। नेटफ्लिक्स सेवा भारत, अस्ट्रेलिय, न्यूजी ल्याण्ड, अमेरिका, जापान, तथा यूरोपको केहि क्षेत्रमा जस्तै डेनमार्क, फ्रान्स, जर्मनी, नेदर ल्याण्ड, नर्वे, स्वीडेन, फिन ल्याण्ड, स्विट्जरल्याण्ड, अस्ट्रीया, बेल्जियममा समेत उपलब्ध रहेको छ।
त्यसै गरि डिज्नी एक बहुराष्ट्रिय मास मीडिया र मनोरञ्जन सेवा प्रदायक कम्पनी हो। यसको मुख्यालय क्यालिफोर्नियाको वाल्ट डिस्ने स्टुडियो कम्प्लेक्समा रहेको छ।