एजेन्सी– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) बाट बेलायतमा हालसम्म ३५ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै भाइरसबाट नयाँ संक्रमित हुने बेलायतीको संख्या पनि बढिरहेको छ। पछिल्लो विवरणअनुसार बेलायतमा १ हजार ३ सय ९१ जना संक्रमित भएको पुष्टि भएको छ।
यता हालै एउटा सरकारी प्रतिवेदन बाहिरिएको छ। उक्त प्रतिवेदनमा कोरोना भाइरसबाट बेलायतको ८० प्रतिशत जनसंख्या संक्रमित हुने चेतावनी दिइएको छ। त्यस्तै कोरोना भाइरसको प्रकोप १ वर्षसम्म जारी रहने पनि उक्त प्रतिवेदनमा उल्लेख छ।
भाइरसका कारण झण्डै ७९ लाख मानिस अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आउन सक्ने उक्त प्रतिवेदनमा भनिएको छ। आपतकालीन तम्तयारी तथा प्रतिकार्य टोलीले उक्त प्रतिवेदन तयार गरेको हो।
‘आगामी १२ महिनाभित्रमा ८० प्रतिशत जनसंख्या कोभिड १९ बाट संक्रमित हुने र १५ प्रतिशत (७९ लाख मानिस) लाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउन सक्छ’, पब्लिक हेल्थ इङल्याण्डको ब्रिफ्रिङमा भनिएको छ।
यदि ८० प्रतिशत मानिसमा संक्रमण देखिएमा र भाइरसबाट ज्यान गुमाउनेको हालको दर (१ प्रतिशत) कायम भएमा ५ लाख बेलायतीको ज्यान जान सक्ने अधिकारीहरूले बताएका छन् ।