महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँट नगरपालिका–११ कलुवापुर भएको भण्डारी दम्पत्ति प्रकरणमा संलग्न छोरालाई प्रहरीले सार्वजानिक गरेको छ। गत फाल्गुन १५ गते घरभित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी पत्नी धनाको हत्यामा संलग्न २६ बर्षीय छोरा भरत भण्डारीलाई सोमबार डडेल्धुराबाट पक्राउ गरेको छ।
प्रहरीका अनुसार भण्डारीले बुवा र कान्छी आमालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ। डडेल्धुराबाट १३ गते मोटरसाइकलको ट्रायल दिन महेन्द्रनगर पुगेका भण्डारीले डडेल्धुरास्थित घर फर्किनका लागि हिडेका थिए।
तर, कैलालीको गोदावरी पुगेर उनी मादक पर्दाथ सेवन गरी कलुवार फर्किएका थिए। सोही राती कान्छी आमासँग विवाद भएपछि हत्या गरिएको प्रहरीले जनाएको छ।
‘पारिवारीक लेनदेन र बावुले कान्छी आमा ल्याएको कारण हत्या भएको खुलेको छ,’ कञ्चनपुरका प्रहरी प्रमुख उपरीक्षक मुकुन्द मरासीनीले भने, ‘कान्छी आमाको भान्साकोठामा र बुवाको सुतेको अवस्थामा हत्या गरेर राती नै डडेल्धुरा फर्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
मध्य रातमा हत्या गरी फर्केका भण्डारीले रगताम्य लुगा र हत्यामा प्रयोग भएको हतियार भासुभीरमा फोलेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ।