एजेन्सी– जापानको एक केयर होममा १९ जनालाई छुरा प्रहरी गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ। जापानको इतिहासमा यो निकै भयावह घटना मानिएको छ।
३० वर्षीय सातोशी उमाचु स्वयंले उक्त हत्याकाण्डको आरोपमा प्रतिवाद गरेका छैनन्। तर उनका वकीलहरुले ‘मानसिक रोग’ का कारण नशालु पदार्थको सेवन गरेका सातोशीले जानीजानी व्यक्तिको हत्या नगरेको दाबी गरेका थिए। उक्त घटना सन् २०१६ मा योकोहामा नगरमा भएको थियो। प्रमाणहरुले सातोशीले हत्याको योजना बनाएको र मार्ने नियत प्रस्टै राखेको देखाएकोले उनलाई मृत्युदण्ड दिइएको बताइएको छ।
सरकारी अभियोजनकर्ताहरुले सातोशीलाई मृत्युदण्ड दिइनु पर्ने मागदाबी गरेका थिए। जापानमा झुण्ड्याएर मृत्युदण्ड दिइने प्रचलन छ। अदालतले फैसला सुनाउँदा सातोशीमा कुनै आत्मग्लानी देखिएको थिएन, र उनी न्यायाधीशलाई एकोहोरो हेरिरहेका थिए।
सातोशीले अदालतको फैसला आफूलाई स्वीकार्य हुने र कुनै अर्को अदालतमा अपिल नगर्ने बताउँदै आएका थिए। तैपनि उनले आफूलाई मृत्युदण्डको सजाय नहुने दाबी गरिरहेका थिए। उनले केयर होममा आक्रमण गर्दा सबै अशक्त व्यक्तिलाई समाप्त गर्न चाहेको बताउँदै अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए। उनको आक्रमणबाट अरु २६ जना घाइते भएका थिए। उनीविरुद्ध अदालतको फैसला सुन्न स्थानीय अदालतमा ठूलो भिड लागेको थियो।