तनहुँ– चैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा–एसइई का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त भएकी छन्। कूल २४ परीक्षा केन्द्रमध्ये एउटा परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष नियुक्त गरिएको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ।
आँबुखैरेनी गाउँपालिकास्थित मित्रता माध्यमिक विद्यालयका प्रधानाध्यापक सरितादेवी पौडेललाई सोही परीक्षा केन्द्रको केन्द्राध्यक्ष नियुक्त गरिएको एकाइ प्रमुख रमाकान्त शर्माले जानकारी दिएका छन्। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्दे्शिका २०६८–संशोधनसहित बमोजिम परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक माध्यमिक तहका स्थायी शिक्षक भएमा त्यस्ता प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष नियुक्ति गर्ने प्रावधान रहेको छ। ‘परीक्षा केन्द्र तोकिएका अन्य विद्यालयमा महिला प्रधानाध्यापक नरहेका कारण जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष छिन्’, उनले भने।
सो केन्द्रबाट २८७ विद्यार्थीले परीक्षा दिँदैछन्। उक्त परीक्षा केन्द्रबाट आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माध्यमिक विद्यालय, मस्र्याङ्दी जनज्योति आवासीय माध्यमिक विद्यालय, सनसाइन आवासीय माध्यमिक विद्यालय, बालशिक्षा सदन आवासीय माध्यमिक विद्यालय, एक्टिभ ग्रीनल्याण्ड बोर्डिङ स्कूल, छिम्केश्वरी माध्यमिक विद्यालय र फ्युचरस्टार बोर्डिङ स्कूलका विद्यार्थी परीक्षामा सहभागी भएका छन्। जिल्लाका दश स्थानीय तहमा रहेका २४ परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरणसमेत गरिएको एकाइले जानकारी दिएको छ। रासस