चिप्लेढुङ्गा– गण्डकी विश्वविद्यालयका नवनियुक्त कुलपति प्राध्यापक डा गणेशमान गुरुङले अनुसन्धानकर्ताले नयाँ ज्ञानको उत्खननमा केन्द्रित हुँदै मौलिकतामा जोड दिनुपर्ने बताएका छन्। पोखरामा सिटी एजुकेशन फाउण्डेशन काठमाडौँद्वारा सोमबार यहाँ आयोजित ‘विश्वविद्यालय, उच्च शिक्षा र अनुसन्धान विषयक’ अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पठनपाठन, अध्ययनअध्यापन र अनुसन्धान एकअर्काका परिपूरक भएको तर अनुसन्धानको विषय सरकारी तवरबाटै ओझेलमा परेको छ।
उनले भनेँ, ‘अनुसन्धानलाई प्रभावकारी बनाउन विभिन्न समयमा सरकारसँग राष्ट्रियस्तरको अनुसन्धान परिषद् गठनका निम्ति सुझाव पनि प्रदान गर्यौँ तर कार्यान्वयन भएन।’ प्राडा भरतराज पहारीले समाजको सबै समस्याको समाधान विश्वविद्यालयको प्रयोगशालाबाट निस्कने गरेको भन्दै शोधकर्ताको खोज–अनुसन्धान मौलिक र सही हुनपर्नेमा जोड दिएका छन्।
संस्कृतिविज्ञ डा कुशुमाकर न्यौपानेले पछिल्लो समय शोधकर्ता उपाधि लिन मात्र केन्द्रित हुने गरेको बताएका छन्। उनले कार्यक्षेत्रमा भार थाम्न गाह्रो देखिन थालेको भन्दै सोको निराकरण गर्न ज्ञानवद्र्धक सिर्जनशीलतामा केन्द्रित हुन आग्रह गरेका छन्।
कार्यक्रममा प्राडा यमबहादुर क्षेत्री, श्रीकान्त खतिवडा, प्राडा रामजी शर्मा, प्राडा दामोदर बसौंला, डा वीरबहादुर खनाललगायतका प्राज्ञिक व्यत्तित्वले अनुसन्धानको विषयमा आफ्नो अनुभवसहितका धारणा राखेका छन्। कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न क्षेत्रका शोधकर्ता एवं अनुसन्धनकर्ताको सहभागिता रहेको संस्थापक प्राचार्य डा यशोधम त्रिपाठीले जानकारी दिएका छन्। रासस