दाङ– तुलसीपुरमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरिएको थियो। प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीको अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी अनुप बस्नेत, सोही ठाउँका २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेका छन्।
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरागाउँमा लुकीछिपी बसेको अवस्थामा गएराति उनीहरु पक्राउ परेका प्रनाउ योगीले बताए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि सोमबार कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको थियो।
सो अस्पतालले पनि उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरेपछि काठमाडौं लैजाने क्रममा उनको बाटोमै मृत्य भएको थियो। डाँगीमाथि आइतबार राति टरिगाउँ विमानस्थल नजिक खुकुरी प्रहार भएको थियो।