इटहरी– अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाको शाखाको रूपमा इटहरीमा बाल अस्पताल तथा पुनः स्थापना केन्द्र सञ्चालनमा आएको छ। रु ८३ लाख लागतमा निर्माण सम्पन्न भएको भवनलाई आवश्यक पर्ने आठ कठ्ठा तीन धुर जग्गा स्थानीय दिनेश रसाइली तथा उद्धव राईले प्रदान गरेका छन्।
विकसित देशमा जस्तो शारिरीक अपाङ्गता भएका बालबालिकालाई उपचार गर्ने प्रविधि यहाँ नै उपलब्ध हुने केन्द्रका संस्थापक प्राध्यापक डा. अशोक बाँस्कोटाले जानकारी दिएका छन्। उनले भने, ‘अपाङ्गता भएका बालबालिकाको उपचार तथा पुनः स्थापनामा सबैको ध्यान जानुपर्छ।’
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सोमबार इटहरीमा आयोजित कार्यक्रममा सो केन्द्रको उद्घाटन गर्दै केन्द्रलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिएका छन्। सो केन्द्रका शाखा अध्यक्ष दिनेश रसाइलीले भवन निर्माणका लागि सहयोग गर्ने नागरिक तथा समाजसेवीलाई धन्यवाद ज्ञापन दिएका थिए। रासस