एजेन्सी– फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)ले आफ्ना ब्राजिलियन स्टार नेयमारलाई बेच्न मूल्य तोकेको छ। पीएसजीको यो घोषणासँगै नेयमार पुनः स्पेनिस क्लब बार्सिलोना फर्किने छ। बार्सिलोनाले आघिल्लो सिजन पनि नेयमारलाई भित्र्याउने इच्छा देखाएको थियो।
ब्राजिलियन स्टार नेयमारलाई बेच्ने भनिएपनि फ्रन्सेली युवा खेलाडी केलियन एमबाप्पेलाई पीएसजीमै राख्ने जनाएको छ। पीएसजीले नेयमारका लागि १३५ मिलियन पाउन्ड मूल्य राखेको छ। यस अघि बार्सिलोनाले नेयमारलाई किन्ने चासो देखाउँदा पीएसजीले १८६ मिलियन पाउन्ड तोकेको थियो।अहिले तोकिएको मूल्यमा नेमारलाई भित्र्याउन बार्सिलोना सहमत देखिएको छ। बार्सिलोनाका स्टार अर्जेन्टिनी खेलाडी लियोनल मेसीले पनि नेमारलाई भित्र्याउन सक्दो प्रयास गर्दै आएका छन्। पीएसजीका खेलकुद निर्देशक लियोनार्दो अराउजोले पनि क्लबले नेमारलाई बिक्री गर्न चाहेको समाचारको पुष्टि गरेका छन्।
नेमार सन् २०१७ मा २२ करोड २० लाख पाउन्डमा बार्सिलोनाबाट पीएसजीमा आबद्ध भएका थिए। पीएसजीका लागि नेमारले यो सिजन घरेलु लिगमा १६ गोल गरेका छन्। पीएसजीमा आबद्ध भएयता उनले विभिन्न प्रतियोगितामा क्लबका लागि ८० खेल खेल्दै ६९ गोल गरेका छन्। तर, पीएसजीले २१ वर्षीय स्ट्राइकर एमबाप्पेलाई भने नबेच्ने बताएको छ। एमबाप्पेलाई किन्न अर्को स्पेनिस क्लब रियल म्याड्रिडले लामो समयदेखि चासो देखाउँदै आएको छ। खासगरी रियल म्याड्रिडका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान एमबाप्पेलाई भित्र्याउन चाहन्छन्।
पीएसजीसँग एमबाप्पेको हालको सम्झौता सन् २०२२ को जुनमा सकिँदैछ। यो सिजन उनले क्लबका लागि २३ गोल गरेका छन् भने नौवटा पास उपलब्ध गराएका छन्। हालसम्म २७ खेल खेलेको पीएसजी ६८ अंकसहित घरेलु लिग तालिकाको पहिलो स्थानमा आसीन छ। २८ खेलबाट ५६ अंक जोडेको मार्सिल्ले दोस्रो स्थानमा छ।