काठमाडौं– वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका–४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ।
उनले रु १० लाख बढी ठगी गरेको उजुरी परेपछि महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो। रोजगारीको प्रलोभनमा पारी नौ जनाबाट रु १० लाख ५३ हजार पैसा लिई उनी फरार भएका थिए।
पीडितको जाहेरीका आधारमा खोजी गर्दैगर्दा काठमाडौँको गँगबुबाट उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिएका छन्। उनलाई आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको उनले बताएका छन्। (रासस)