जनकपुर– प्रदेश २ को नाम जानकी राख्ने नेकपाको प्रस्ताव अस्वीकृत भएको छ। प्रदेशको नाम ‘जानकी’ राख्ने नेकपाको पक्षमा ३७ मत मात्रै खसेको छ। मतदानमा प्रदेशका एक सय ७ जना प्रदेश सांसदहरुले मत खसालेका थिए।
प्रदेशसभामा नेकपाका ३२ सांसद छन्। नेकपाको प्रस्तावमा ३७ मत खसेपछि कुन दलका सांसदले नेकपाको प्रस्तावमाथि समर्थन गरे भन्ने खुल्न सकेको छैन। नेकपाले प्रस्ताव गरेको नाम अस्वीकृत भएसँगै अब कांग्रेसले राखेको प्रस्तावमाथि मतदान हुनेछ। कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ प्रस्ताव गरेको छ।
मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानी पारितका लागि दुई तिहाइ मत आवश्यक पर्छ। प्रदेश २ मा सत्तासाझेदार समाजवादीका ३० र राजपाका २५ गरी ५५ सांसद छन्। दुई तिहाइ मत पुर्याउन ७२ सांसद आवश्यक पर्छ। प्रदेश २ मा नेकपाका ३२, कांग्रेसका १९ र संघीय समाजवादी पार्टीको एक सांसद छन्।