एजेन्सी –इराकमा रहेको अल काइम र अन्य दुई सैन्य बेसबाट अमेरिकी सेना हट्ने भएको छ। हाल इराकमा रहेका आठमध्ये तीन बेसबाट हट्ने निर्णयलाई अमेरिकाले इराकमा आफ्नो ‘पदचाप’ बिस्तारै कम गर्ने रणनीतिको रुपमा अर्थायाइएको छ। पछिल्लो समय इरान र इराक सरकारसँग अमेरिकाको तनाव बढिरहेको बेला यस्तो निर्णय आएको हो।
अल काइममा एक औपचारिक समारोहका बीच अमेरिकाले उपकरणहरुलाई इराकी सेनालाई हस्तान्तरण गर्नेछ। योसँगै सिरियाको सीमामा इराकपट्टी अमेरिकाको उपस्थिति अन्त्य हुनेछ।
यो बेस इराकको सबैभन्दा पूरानो रेलवे स्टेसनमा बनाइएको थियो। यो सन् २०१४ मा इस्लामिक स्टेटको कब्जामा पुगेको इराकको पहिलो ठाउँ थियो। सन् २०१७ को नोभेम्बरमा इराकी सेनाले यसमा पुनः नियन्त्रण कायम गरेका थिए।
इस्लामिक स्टेटमाथिको जीतपछि इरानसमर्थित मिलिसिया समुहले सीमाको दुवै क्षेत्रमा नियन्त्रण बनाएका छन्। अल काइममा इराकी सुरक्षा बलको उपस्थित रहे पनि यस क्षेत्र पपुलर मोबिलाइजेसन फोर्स (पीएफएफ) को नियन्त्रणमा रहेको छ।