काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि कतार र साउदी अरबपछि मलेसियाले पनि विदेशी श्रमिक प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ। मलेसियामा कोरोना भाइरसको संक्रमण दर बढ्दै जान थालेपछि बुधबार (आज) बाट १४ दिनका लागि विदेशीलाई प्रवेशमा रोक लगाइएको हो। यसअघि कतार र साउदी अरबले पनि नेपाली श्रमिकको आवतजावतमा रोक लगाइसकेका छन्।
मलेसियाले विदेशीको प्रवेशमा रोक लगाएसँगै रोजगारीका लागि जाने कामदार रोकिएका छन्। वैदेशिक रोजगार विभाग ताहचल कार्यालयका प्रमुख उमेश बस्नेतले मलेसिया जाने नेपाली श्रमिक केही दिनका लागि रोकिएको बताए। १ वर्षभन्दा लामो समय रोकिएको मलेसियाको रोजगारी ३ महिनाअघि मात्र खुलेको थियो। विभागको फागुन महिनाको तथ्यांकमा मलेसिया जान लगभग ११ हजार नेपाली युवाले श्रम स्वीकृति लिएको देखिन्छ। विगत ३ महिनाको तथ्यांकमा ३२ हजार नेपाली मलेसियामा रोजगारीमा गएको देखिन्छ।
मलेसिया जान मात्र दैनिक ३६५ युवाले श्रम स्वीकृति लिएको देखिन्छ। यही तथ्यांकलाई आधार मान्दा आगामी १४ दिनमा लगभग ५ हजार नेपाली मलेसिया जान पाउने छैनन् भने सोही संख्यामा नेपाल फर्कन पाउने छैनन्। यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।