सर्लाही– कोराना भाइरस जाँचका लागि सर्लाहीमा पहिलोपटक ‘सहायता कक्ष’ स्थापना गरिएको छ। वाग्मती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सो सहायता कक्ष स्थापना गरेको हो। जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले मङ्गलबार सो कक्षको उद्घाटन गर्दै कोरोना भाइरसको सङ्क्रमणका बारेमा सचेतना फैलाउन र यहाँ आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको बताएका छन्।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सर्वसाधारणको जनस्वास्थ्य सुरक्षामा राज्य र जिम्मेवार निकाय गम्भीर भएर लाग्नपर्ने बताउँदै सेवाग्राहीको बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको सहायता कक्षले नागरिकको स्वास्थ्य सुरक्षामा थप मद्दत पुग्ने छ भनेका छन्। वाग्मती सेवा समाज नेपालका अध्यक्ष भरतकुमार कार्कीले नागरिकको स्वास्थ्य सुरक्षा पहिलो आवश्यकता भएकाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सहायता कक्ष स्थापना गरिएको बताएका छन्।
सहायता कक्षमा ज्वरो मापनका साथै रुघाखोकी लागे–नलागेको बारेमा सोधपुछ हुनेछ ।अत्यधिक ज्वरो आएका र केही शङ्कास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा छुट्टै कोठामा राख्ने व्यवस्था गरिएको छ। सहायता कक्षमा तीन जना स्वास्थ्यकर्मी खटाइएको अध्यक्ष कार्कीले बताएका छन्।
समाजका व्यवस्थापन प्रमुख गजेन्द्र साहले सहायता कक्षमा यहाँ आउने सबै सेवाग्राहीको स्वास्थ्य परीक्षण हुने बताएका छन्। भारतसँग सीमा जोडिएको सर्लाहीको विभिन्न नाकामा दुवै देशको सहकार्यमा १३ वटा सहायता कक्ष स्थापना गरिएको छ। ती नाकाबाट नेपाल र भारत भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। रासस