एजेन्सी– चीनले तीन अमेरिकी सञ्चार संस्थाका पत्रकारलाई निलम्बन गरेको छ। अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्स, वासिङटन पोस्ट तथा वाल स्ट्रिट जर्नलका पत्रकारलाई तुरुन्त लागू हुने गरी चीन छोड्न आदेश दिएको हो। तर तत्काल कति पत्रकार निष्कासनमा परेका हुन् भन्ने स्पष्ट नभएको सीएनएनले उल्लेख गरेको छ।
भिसा अवधि सन् २०२० मा सकिने भए ती पत्रकारले १० दिनभित्र चीनले दिएको प्रेस मान्यता फिर्ता गरिसक्नु पर्नेछ। चीनले पछिल्ला वर्ष १२ महिनाका लागि विदेशी पत्रकारलाई भिसा दिने गरेको छ। निष्कासित हुने पत्रकारले चीन तथा मकाउ, हङकङलगायतबाट समेत रिपोर्टिङ गर्न पाउने छैनन्।
चीनको पछिल्लो निर्णय अमेरिकाले एक महिनाअघि चिनियाँ सञ्चार माध्यमलाई गरेको प्रतिबन्धको जवाफ स्वरूप आएको सीएनएनले बताएको छ। अमेरिकाले चीनका पाँच राष्ट्रिय सञ्चार संस्थालाई अमेरिकामा कुनै मालसामान खरिद वा कार्यालय राख्नु परे अमेरिकी सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको थियो। सो व्यवस्थासँगै ती सञ्चार संस्थाले कार्य सुचारु गर्नका लागि कुटनीतिक मिसनले गरेझैँ आवश्यक प्रक्रियाहरू पूरा गर्नुपरेको छ।