महोत्तरी– बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइई का लागि महोत्तरीमा सबै तयारी पूरा भएको छ। परीक्षा केन्द्रको सुरक्षा व्यवस्था, परीक्षा सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, अनुगमन र हेल्थ डेस्कसहितको तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको हो।
महोत्तरीमा यस वर्ष आठ हजार ३२९ परीक्षार्थी एसइई परीक्षामा सामेल हुँदैछन्। यो परीक्षाका लागि जिल्लामा ३० परीक्षा केन्द्र व्यवस्था गरिएका छन्। सबै परीक्षा केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्नुका साथै आकस्मिक स्वास्थ्य डेस्कको प्रबन्धसमेत मिलाएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिएका छन्।
परीक्षालाई मर्या्दित बनाउन आवश्यक सुरक्षा प्रबन्ध र सघन अनुगमनको व्यवस्था मिलाएको समितिले जनाएको छ। परीक्षा सञ्चालन र व्यवस्थापनका लागि प्रदेश शिक्षा विकास निर्देशनालय र जिल्ला परीक्षा समन्वय समितिबीच आवश्यक समन्वय भइरहेको छ। यसपालि महोत्तरीसहित प्रदेश नं २ का आठ जिल्लाबाट कूल ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुँदैछन्।
प्रदेशका आठै जिल्लामा २६७ परीक्षा केन्द्र व्यवस्थापन गरिएको छ। यसपालिको परीक्षामा प्रदेशभित्र सबैभन्दा बढी धनुषाबाट ११ हजार ३९३ र सबैभन्दा कम रौतहटबाट सात हजार ७०५ परीक्षार्थी सहभागी हुँदैछन्। धनुषामा ४३ र रौतहटमा ३० परीक्षा केन्द्र तोकिएको प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधामका निर्देशक चुडामणि फुँयालले जानकारी दिएका छन्।
परीक्षा मर्या्दितरूपमा सञ्चालन गर्न जिल्ला परीक्षा समन्वय समितिको नेतृत्वमा सुरक्षा, स्वास्थ्य सचेतना र आकस्मिक उपचारकक्ष, अनुगमनको आवश्यक प्रबन्धका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको निर्देशक फुँयालले बताएका छन्। रासस