एजेन्सी– विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकले आफ्ना सबै कर्मचारीहरुलाई बोनसस्वरुप १ हजार डलर दिने भएको छ। विश्वलार्ई नै आतङ्कित बनाइरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको अवस्थामा उनीहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ कम्पनीले सो बराबरको रकम बोनस स्वरुप दिने भएको हो।
फेसबुकका सिईओ मार्क जुकरबर्गले मंगलबार कम्पनीको आन्तरिक नोटिसमार्फत उक्त जानकारी दिएका थिए। हाल फेसबुकमा करिब ४५ हजार स्थाई कर्मचारीहरु रहेका छन् भने यसले थप हजारौँ पार्ट टाइम तथा घण्टाको आधारमा कामगर्ने कामदारहरुलाई पनि रोजगार दिएको छ। सन् २०१८ को आधारमा फेसबुकको औसत वार्षिक तलब २ लाख २८ हजार ६ सय ५१ डलर रहेको छ।
फेसबुकले सो बोनस पार्ट टाइम कमदारहरु वा घण्टाको आधारमा काम गर्ने कन्ट्र्याक्ट कामदारहरुलाई भने नदिने बताएको छ। यसअघि कम्पनीले घण्टामा काम गर्ने कामदारहरुलाई पनि ज्याला दिने बताएको थियो।
यसबाहेक फेसबुककी सिओओ (Chief Operating Officer) सेरिल स्याण्डबर्गले कोरोनाभाइरसबाट प्रभावित साना व्यवसायहरुलाई सहयोग गर्न सय मिलियन डलर अतिरिक्त खर्च गर्ने बताएकी छिन्। कम्पनीले कोरोना भाइरस प्रभावित ३० देशहरुमा सय मिलियन डलर अतिरिक्त खर्च गर्ने बताएकी छिन्। जसमा कोरोना भाइरसबाट प्रभावित भएका तीस हजार योग्य साना व्यवसायहरु यसकाे भागि हुनेछन्।