एजेन्सी– कोरोना भाइरस (कोभिड–१९) फैलन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै ओमनले कडा कदम उठाउने निर्णय गरेको छ। कोरोना भाइरसबाट उत्पन्न परिस्थितिका विषयमा यहाँको सुप्रिम कमिटीले मंगलबार साँझ आफ्नो तेस्रो बैठक गृहमन्त्री हमद बिन फैस अल बुसैदीको अध्यक्षतामा आयोजना गरेको थियो।
बैठकले कोरोना रोकथाम गर्न ओमनलाई लकडाउन गर्ने निर्णय गरेको हो। बुधवार दिउँसो १२ बजेदेखि देखि लागू हुने गरि ओमनी बाहेक सबै विदेशी नागरिकलाई तत्कालको लागि ओमन प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ। त्यस्तै आफ्ना नागरिक देशबाहिर जान पनि प्रतिबन्ध लगाइएको छ। प्रार्थनाबाहेकका अन्य समयमा सबै मजिस्दहरु बन्द रहने निर्णय गरिएको छ।
यसबाहेक गैरमुलिम धर्मका सबै प्रार्थनास्थलहरुलाई बन्द गर्ने निर्णय गरिएको छ। देशभित्र सबै कार्यक्रम, सभाहरु स्थगित गरिएका छन् साथमा सबैै पर्यटकीय स्थलहरु तथा सार्वजानिक स्थल बन्द गरिने भएको छ।
सामाजिक जमघटहरुमा प्रतिबन्ध लगाइएको छ र खाद्यन्न, र औषधी बाहेकका सबै व्यापारिक मल बन्द गर्न निर्देशन दिइएको छ। देशका विभिन्न शहरहरुमा रहेमा सडक बजार बन्द हुनेछन्। बुधबार, बिहीबार र शुक्रबार संचालन हुने सडक बजार पनि बन्द रहनेछन्।
ओमनमा हालसम्म ३३ जनामा यसको संक्रमण भेटिएको छ। संक्रमितमध्ये १२ जना उपचारपछि पूर्ण रुपमा निको भएको मन्त्रालयको भनाइ छ।