विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसकाे संक्रमणलाई मध्यनजर गर्दै नेपाली सेनाले आन्तरिक तयारी थालेको छ। तयारी स्वरुप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरुलाई तालिम दिइएको सेनाले जनाएको छ।
उपत्यका बाहिर रहेका सेनाका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई तालिम दिइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । प्रवक्ता पाण्डेका अनुसार, पोखरा, इटहरी र नेपालगञ्ज अस्पतालबाट ६ जना चिकित्सक, फिल्ड एम्बुलेन्सका २/२ जना गरी ३६ जना र ओपीडी हेर्ने १० जना चिकित्सकले तालिम पाएका छन् ।
यसैगरी सेनाले ५२ जनाकाे मेडिकल टिम र अन्य प्राविधिक टिम गरी १ सय ८१ जनालाई पनि तालिम प्रदान गरेकाे छ । यसका अतिरित्त सेनाले मुख्यालयमा ९ वटा क्लस्टरमा छुट्याएर प्रत्येक क्लस्टरमा ६ वटा टेन्ट रहने तथा एउटा टेन्टमा २ वटा बेड हुनेगरी ५४ वटा अस्थायी टेन्ट निर्माण गरेको छ।
प्रवक्ता पाण्डेले वीरेन्द्र अस्पतालमा १० तथा पोखरा, इटहरी र नेपालगञ्ज सैनिक अस्पतालमा २/२ वटा आइसोलेसन कक्षहरु स्थापना गरिएको जानकारी दिए । फिल्ड एम्बुलेन्स १८ वटा स्थापना भएको र अबको २ दिनमा सेनाका प्रत्येक अस्पतालमा गरी ५२ वटा आइसोलेसन बेडहरु हुने उनले बताए।