महोत्तरी– महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँच जनाको मृत्यु भएको छ। नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास मण्डल र ५५ वर्षीय गङ्गा सिंहको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष शशीभूषण चौधरीले बताए।
उनका अनुसार गत मङ्गलबारदेखि अचानक बिरामी हुँदै र उपचार हुँदाहुँदै पनि सिकिस्त अवस्थामा पुगेर एकपछि अर्को गरी पाँचै जनाको मृत्यु भएको हो।
काठमाडौं– विश्वभर कोरोना (कोभिड–१९)को त्रास फैलिँदा त्यसको प्रभाव नेपालकासमेत विभिन्न क्षेत्रमा परेको छ। कोरोना संक्रमण तथा रोकथामका निम्ति सरकारले विभिन्न कार्यक्रम सार्वजनिक गरिसकेको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा बसेकाे छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडागायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको थियाे।
काठमाडौं – विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसकाे संक्रमणलाई मध्यनजर गर्दै नेपाली सेनाले आन्तरिक तयारी थालेको छ। सेनाले आन्तरिक तयारी स्वरुप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरुलाई तालिम दिएको जनाएको छ।
उपत्यका बाहिरका सेनाका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई तालिम दिएको हो। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पोखरा, इटहरी र नेपालगञ्ज अस्पालबाट चिकित्सकसहित ६ जना, फिल्ड एम्बुलेन्सका २/२ जना गरी ३६ जना र ओपीडी हेर्ने १० जना चिकित्सकहरुलाई तालिम दिइएको जानकारी दिए।
सेनाले १ सय ८१ जनालाई तालिम दिएको छ जसमा ५२ जना मेडिकल टिम र अन्य प्राविधिक टिम रहेको छ । सेनाले मुख्यालयमा ५४ वटा अस्थायी टेन्ट निर्माण गरेको छ। ९ वटा कलस्टरमा छुट्याएर प्रत्येक कलस्टरमा ६ वटा टेन्ट रहने र एउटा टेन्टमा २ वटा बेड हुनेगरी टेण्टहरु निर्माण गरेको हो।
काठमाडौं – समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रदेश नम्बर २ को नाम तोक्न नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले बुधवार बिहान ट्विटमा प्रदेश नम्बर २को नाम मधेश राख्न किन आपत्ति भयो भनी प्रश्न गरेका छन्।
सामाजिक सञ्जाल मार्फत हिन्दी भाषामा ट्विट गर्दै उनले लेखेका छन्,‘नेपालको संविधानमा ‘मधेसी’ पहिचान स्वीकार गरिसकेको छ भने २ नं प्रदेशको नाम ‘मधेस’ किन हुन सक्दैन?’ ‘हाम्रा पूर्वमाओवादी कमरेडहरु मातृका यादव, प्रभु साह, भरत साह कहाँ छन्?’ भट्टराईले भनेका छन्,–‘अनि पूर्व नयाँ शक्तिवाला साथीहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ छन्? केही त लाज मान यार?’
मंगलबार राति मात्रै पनि उनले कम्युनिष्ट पार्टीका प्रतिनिधिले जातीय पहिचानलाई भन्दा कुनै धार्मिक पात्रको नामलाई अघि सारेकोमा अचम्म लागेको भनी ट्विट गरेका थिए। ‘नेकपा नाम गरेको दलको हर्कत देखेर मार्क्स,एंगेल्स,लेनिन, माओ जीवित भए के भन्दा हुन्?’ भन्दै व्यंग्य गरेका थिए।
एजेन्सी– चीनले तीन अमेरिकी सञ्चार संस्थाका पत्रकारलाई निलम्बन गरेको छ। अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्स, वासिङटन पोस्ट तथा वाल स्ट्रिट जर्नलका पत्रकारलाई तुरुन्त लागू हुने गरी चीन छोड्न आदेश दिएको हो। तर तत्काल कति पत्रकार निष्कासनमा परेका हुन् भन्ने स्पष्ट नभएको सीएनएनले उल्लेख गरेको छ।
भिसा अवधि सन् २०२० मा सकिने भए ती पत्रकारले १० दिनभित्र चीनले दिएको प्रेस मान्यता फिर्ता गरिसक्नु पर्नेछ। चीनले पछिल्ला वर्ष १२ महिनाका लागि विदेशी पत्रकारलाई भिसा दिने गरेको छ। निष्कासित हुने पत्रकारले चीन तथा मकाउ, हङकङलगायतबाट समेत रिपोर्टिङ गर्न पाउने छैनन्।
चीनको पछिल्लो निर्णय अमेरिकाले एक महिनाअघि चिनियाँ सञ्चार माध्यमलाई गरेको प्रतिबन्धको जवाफ स्वरूप आएको सीएनएनले बताएको छ। अमेरिकाले चीनका पाँच राष्ट्रिय सञ्चार संस्थालाई अमेरिकामा कुनै मालसामान खरिद वा कार्यालय राख्नु परे अमेरिकी सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको थियो।
एजेन्सी - ई–कमर्श कम्पनी अमेजनले १ लाख नयाँ कर्मचारीहरु थप्ने भएको छ। विश्व भर फैलिरहेको कोरोना भाइरस (काेभिड–१९)काे कारण अनलाइन डिमाण्ड बढेको भन्दै कम्पनीले थप १ लाख कर्मचारीहरु लिने भएको हो।
कम्पनीले १ लाख नयाँ फुल टाइम र पार्ट टाइम जागिर अमेरिकाका चार फुलफिलमेन्ट सेन्टरहरु तथा डेलिभरी नेटवर्कका लागि आवश्यक रहेको बताएको छ। जसकारण यस्तो कर्मचारीहरु अधिकांश अमेरिकाको लागि हुने जनाएकाे छ। सो जानकारी अमेजन(AMZN) ले सोमबार एक ब्लग पोस्टमार्फत दिएको हो।
याेसँगै अमेजनले गोदाम र वितरक कामदारहरूको तलब बढाउनको लागि थप लगानीसमेत गर्ने भएको छ।
काठमाडौं– निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोर्खाका युवराज न्यौपाने रहेका छन्। महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभर्याङबाट उनलाई आज पक्राउ गरेको हो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुलबहादुर थापाका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेहरुविरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको र गएराति उक्त टोलीले सुरज आर्केडबाट एक हजार ६ सय थान स्यानिटाइजर तथा काठमाडौँ उपत्यकाका विभिन्न भागबाट १४ हजार थान मास्क बरामद गरेको छ।
काठमाडौं – सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएकाे छ। उनकाे (बुधबार) आज बिहान हिमाल अस्पताल नक्सालमा निधन भएको हो। उनलाई सुगर र प्रेसरले चापेपछि अस्पताल भर्ना गरिएको थियो। उनको आज दिउँसो पशुपतिमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी गराएका छन्।
श्रेष्ठ २०५४ असोज १ देखि २०५४ चैत २९ गतेसम्म प्रधानन्यायाधीश भएका थिए। बुधबार नै सर्वोच्च अदालतको फुल कोर्टको बैठक बसेर पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।
काठमाडाैं - नेपाल प्रहरीले छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक–डिएसपी रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिएका छन्। पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। उनलाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताएका छन्।
काठमाडौं– कोरोना भाइरस अर्थात कोभिड-१९ को आशंकामा पाँचजना विदेशी नागरिकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ। भर्ना भएका पाँचै जना अमेरिकी नागरिक हुन्।
भर्ना भएकामध्ये चारजनालाई आइसोलेसनमा र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए। उनका अनुसार उनीहरूलाई सोमबार भर्ना गरिएको थियो।
एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको भण्डारीले बताए। आइसियूमा रहेका उक्त व्यक्तिको अवस्थामा राम्रो सुधार आएको भन्दै उनले आजै आइसियूबाट बाहिर निकाल्ने तयारी गरेको बताए।
काठमाडाैं– काेराेना भाइरसकाे त्रासका कारण नेपाल सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेकाे छ। चैत ६ गतेदेखिकाे लागि ताेकिएकाे एसईई अनिश्चित समयकाे लागि स्थगित गरिएकाे हाे।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन्। करिब ५ लाख परीक्षार्थी सहभागी हुने एसईई अब कहिलेबाट सञ्चालन हुन्छ भन्ने टुङ्गाे छैन।
इलाम – इलामको सूर्योदय नगरपालिकाअन्तगर्तको सुके पोखरीमा १७ वर्षीय युवतीको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय इलामकाअनुसार हत्या हुनेमा ज्योति मावि कक्षा ११ मा अध्ययनरत छात्रा आकृति राई रहेकी छिन्।
कटुसेका असइ बिक्रम कुमार चौधरीकाअनुसार आकृति हिजो (मंगलबार) १० बजे परीक्षा दिन घरबाट निस्किएकी थिइन्। तर उनी घर नफर्किएपछि अभिभावकले आँफै खोजि गरेका थिए। खोजि गर्ने क्रममा आज (बुधबार) उनी मृत अवस्थामा भेटिएकी थिइन्। उनको शव माटोले पुरिएको अवस्थामा भेटिएको असई चौधरीले जानकारी दिएका छन्।