इलाम – इलामको सूर्योदय नगरपालिकाअन्तगर्तको सुके पोखरीमा १७ वर्षीय युवतीको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय इलामकाअनुसार हत्या हुनेमा ज्योति मावि कक्षा ११ मा अध्ययनरत छात्रा आकृति राई रहेकी छिन्।
कटुसेका असइ बिक्रम कुमार चौधरीकाअनुसार आकृति हिजो (मंगलबार) १० बजे परीक्षा दिन घरबाट निस्किएकी थिइन्। तर उनी घर नफर्किएपछि अभिभावकले आँफै खोजि गरेका थिए। खोजि गर्ने क्रममा आज (बुधबार) उनी मृत अवस्थामा भेटिएकी थिइन्। उनको शव माटोले पुरिएको अवस्थामा भेटिएको असई चौधरीले जानकारी दिएका छन्।
घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट एसपीसहितको अनुसन्धान टोली घटनास्थल पुगिसकेको छ। ‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको जस्ताे छ,’ असई चौधरीले भने, ‘शरिरमा पनि चोटपटक देखिएका छन्। यद्यपी अनुसन्धानको क्रममा रहेकोले अहिले केही भन्न मिल्ने अवस्था छैन।’ उनका अनुसार शव नियन्त्रणमा लिएर पोष्टमर्टमको तयारी भइरहेको छ।