दमौली– कोभिड – १९ का शङ्कास्पद बिरामीको उपचारका लागि तनहुँको बन्दीपुर अस्पतालमा ‘आइसोलेसन कक्ष ’स्थापना गरिएको छ। अस्पतालमा आठ श्ययाको सो कक्ष निर्माण गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पूर्ण्सिं थापाले जानकारी दिए।
सो कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको उनले बताएका छन्। ‘गाउँपालिकाले कोरोना भाइरसबाट बच्न सतर्कता अभियान पनि सञ्चालन गरिरहेको छ’, अध्यक्ष थापाले भने। कोरोना भाइरस स्वासप्रस्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग रहन गाउँपालिकावासीलाई आग्रह गरिएको उनले जानकारी दिए।
शुक्लागण्डकी नगरपालिका–५ बलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा केही दिन अगाडि मात्रै १२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ। आइसोलेसन कक्षलाई २० श्ययासम्म पु¥याउन सकिने अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिएका छन्।
व्यावसायिक करमा पचास प्रतिशत छुट
कोरोनाको प्रभावले व्यवसायमा असर परेको भन्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा व्यावसायिक करमा पचास प्रतिशत छुट दिने निर्णय गरेको छ। बुधबार सम्पन्न गाउँपालिकाको बैठकले उक्त निर्णय गरेको हो।
वित्तीय सङ्घसंस्थालाई व्याजदर कम गर्न तथा घरधनीलाई घरभाडा शुल्कमा सहुलियत गर्न अनुरोध गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए। ‘कोरोना भाइरसको कारण सबै किसिमका व्यवसायमा समस्या भएपछि व्यवसायीलाई हतोत्साही हुन नदिन व्यावसायिक करमा छुट दिने निर्णय गरिएको हो’, उनले भने।
जबर्जस्ती करणी अभियोगमा एघार वर्ष कैद
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतलले एक अभियुक्तलाई एघार वर्ष कैद फैसला सुनाएको छ। ऋषिङ गाउँपालिका–१ कोइदिम बस्ने १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा व्यास नगरपालिका–२ दमौलीका ४२ वर्षीय राजन पन्थलाई अदालतले एघार वर्ष कैद फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले अभियुक्तलाई कैद फैसला सुनाएको जिल्ला श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए। बालिकालाई रु पचास हजार क्षतिपूर्ति दिने फैसलासमेत गरेको छ।
गत जेठ २६ गते ती युवतीलाई ललाइफकाइ जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पन्थलाई पक्राउ गरेको थियो। पीडित पक्षबाट जाहेरी दरखास्त परेपछि प्रहरीले पन्थविरुद्ध जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतमा असार १६ गते मुद्दा दायर गरेको थियो। (रासस)