काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाको कारण सबै सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन । विश्वभर फैलिएको कोभिड–१९(कोरोना भाइरस) बाट सतर्कता अपनाउन भन्दै र सरकारले कोरोनाको सतर्कताका लागि दिएको निर्देशन पालाना गर्दै नेकपा अध्यक्ष प्रचण्डले सबै कार्यक्रम स्थगित गरेका हुन।
प्रचण्डका स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रचण्डको भेटघाट समेत स्थगित भएको जानकारी दिएकी छिन। उनले भनेकी छिन ‘विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट(अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।’
बुधबार मात्रै नेकपाको सचिवालय बैठक बसेको थियो। कोभिड १९ कै त्रासको कारण आजबाट शुरु हुने भनिएको एसईई परीक्षा स्थगित गरिएको छ। सरकारले कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न बुधबार रोक लगाएको थियो।
त्यस्तै अप्रिल ३० सम्मका लागि सरकारले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम र हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ। साथै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ।