एजेन्सी– विश्वभर कोरोना (कोभिड–१९) भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीहरुलाई मास्कको अभाव देखिएपछि चीन सरकारले फ्रान्सलाई १० लाख मास्क सहयोग गरेको छ। युरोपभरि नै मास्कको अभाव देखिएपछि चिनियाँ अनलाइन मार्केटिङ कम्पनी अलिबाबामार्फत कार्गो विमानमार्फत चीन सरकारले मास्क फ्रान्स पठाएको हो।
चीनले त्यस्ता मास्कहरु युरोपेली अन्य मुलुकलाई पनि सहयोग गरेको फ्रान्स न्युज २४ ले जनाएको छ। तर चीनले अन्य युरोपेली मुलुकलाई कति संख्यामा पठाएको हो भन्ने चाहिँ उल्लेख छैन। पेरिसस्थित चिनियाँ दूतावासले पनि पहिलो खण्डमा मेडिकल सामग्री पठाएको जानकारी दिएको छ।
चीनले फ्रान्सलाई मास्क, सर्जिकल मास्क, प्रोटेक्टिभ सुटलगायतका सामग्री पठाएको दूतावासले जानकारी दिएको छ। यसअघि चीनमा कोरोना भाइरसको तीव्र संक्रमणका बेला फ्रान्स सरकारले चीनलाई १७ टन विभिन्न चिकित्सकीय सामग्री सहयोगस्वरुप वुहान पठाएको थियो।