वीरगंज– भारत तर्फ निर्यात गर्न लागिएको ६ बोरा मास्कसहित दुई जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ। ६ बोरामा २० हजार मास्क रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–५ घर भएका ३८ वर्षीय सुनिल जयसवाल र २६ वर्षीय अजय महतो कोइरी रहेका छन्। काठमाडौंबाट पर्साको सीमावर्ती बजार भिस्वा जाँदै गरेको रात्रीबस पोखीयामा रोकेर चेकजाँच गर्दा प्रहरीले २० हजार थान मास्कसहित जयसवाल र कोइरीलाई पक्राउ गरेको हो।
काठमाडौंबाट मास्क खरिद गरी नेपालबाट भारतमा लगेर बढी मुल्यमा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले रात्रीबसबाट मास्क बरामद गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
कोरोना भाइरसको महामारी फैलिएर नेपाली बजारमा मास्कको अभाव भइरहेको बेला तस्करीका लागि भारत लैजाँदै गरेको अवस्थामा मास्कसहित दुवैलाई पक्राउ गरिएको उनले बताइन्। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र बरामद मास्क के गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीले निर्णय गर्ने प्रहरी उपरीक्षक पन्तले बताइन्।