काठमाण्डौं - सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले कोरोना भाइरस (काेभिड–१९) बारे सचेतना सन्देश दिने रिङ्ग–ब्याक टोनको सुरुवात गरेको छ।
कोरोनाबारे चेतनामुलक सन्देश सर्वसाधरणमाझ पुर्याउने उदेश्यका साथ यसको सुरुवात गरिएको कम्पनीले जनाएको छ। अब कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा फोन गर्दा कोरोनाको लक्षण, रोकथाम र पूर्वतयारीबारे जानकारी सुन्न सकिने छ। यसकाे साथै याे सन्देश सुन्नका लागि ३२१०० मा निःशुल्क फाेन गर्न सकिन्छ।
फोन गर्ने प्रयोगकर्ताले अर्को व्यक्तिको फोन नउठ्दासम्म कोरानाबाट बच्ने उपाएको बारेमा पूर्ण जानकारी पाउने छन्। रिङ्ग–ब्याक टोनको सुरुमा पटक–पटक सावुनपानीले हात धुन र व्यक्तीहरुसँगको समाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ।
सन्देशका साथै रिंगब्याक टोनमार्फत समेत जानकारी दिँदा अझ प्रभावकारी हुने भन्दै यसको सुरुवात गरिएको कम्पनीले जाएको छ। यसअघि कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले टेलिफोन सेवा प्रदायक कम्पनीलाई सन्देशमार्फत जानकारी दिन निर्देशन दिएको थियो।