एजेन्सी– चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट विश्वभर ९ हजार एक सय १४ जनाको मृत्यु भएको छ। चीनमा सबैभन्दा बढी ३ हजार २ सय ४५ जना र त्यसपछि इटालीमा २ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ।
त्यस्तै इरानमा एक हजार २ सय ८४, स्पेनमा ६ सय ४०, फ्रान्समा २ सय ६४ जना, अमेरिकामा एक सय ५५, बेलायतमा एक सय ४, दक्षिण कोरियामा ९१ जनाको मृत्यु भइसकेको छ। संक्रमित भइ बन्द भएकाे केसमध्ये ९ प्रतिशतकाे ज्यान गएकाे छ भने ९१ प्रतिशत निकाे भएका छन्।
चीनमा पछिल्लो समयमा नियन्त्रणमा रहेको कोरोना युरोपियन राष्ट्रहरुमा अनियन्त्रितरुपमा फैलिरहेको छ। युरोपमा पनि इटाली कोरोनाको इपिसेन्टर बनेको छ। इटालीमा पछिल्ला दिनहरुमा मुत्यु हुनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ। इटालीमा बन्द भएका केसमध्ये ४३ प्रतिशतको मृत्यु भएको छ भने ५७ प्रतिशत निको भएका छन।
हाल विश्वभर कोरोनाबाट २ लाख २१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।