लाेक सेवा आयाेगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेकाे छ। आयाेगकाे आज (बिहीबार) बसेकाे बैठकले काेराेना भाइरसकाे सम्भावित जाेखिमलाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे। आयोगले निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेकाे जानकारी दिएकाे छ।
प्रतिनिधिसभा, कानून न्याय तथा मानवअधिकार समितिले कोरोना भाइरस–कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न सरकारलाई १० बुँदे निर्देशन दिएको छ।समितिको आजको बैठकले दिएका निर्देशनमा उपत्यकालगायत देशभरका स्वास्थ्य संस्थामा जनसङ्ख्याको चापअनुसार सघन उपचारकक्ष र आइसोलेसनको पर्याप्त व्यवस्था मिलाउने र कोरोना भाइरसको परीक्षणका लागि मेडिकल सामग्री उपलब्ध गराई औषधि मौज्दात राख्ने प्रबन्ध गर्ने रहेको छ।
सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा सभामुख सापकोटा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच मनमुटावबीचको मनमुटाव सतहमा देखिएको छ। सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई तोकेपछि त्यसमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका छन्।सभामुख सापकोटाले बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका विभिन्न समितिका सभापति, सभामुख र अध्यक्षबीच छलफल राखेकामा मनमुटावको प्रभाव देखिएको छ।
त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। त्रिवि कार्यकारी परिषद्को बैठकले अर्को सूचना जारी नहुँदासम्म सवै परीक्षा स्थगन गर्न केन्द्रीय परीक्षा सञ्चालक समिति र सम्बन्धित डीन कार्यालयलाई निर्देशन दिएको त्रिविका कार्यवाहक शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले जानकारी दिएका छन्।‘सरकारले नै कोभिड–१९ को सङ्क्रमण जोखिमका कारणले सबै परीक्षा स्थगन गर्ने भनेपछि हामीले पनि स्थगन गरेका हौँ’, उनले भने, ‘भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गरेका छाैँ।’ त्रिविले आज पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गरेको थियो।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट विश्वभर ९ हजार एक सय १४ जनाको मृत्यु भएको छ। चीनमा सबैभन्दा बढी ३ हजार २ सय ४५ जना र त्यसपछि इटालीमा २ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ। त्यस्तै इरानमा एक हजार २ सय ८४, स्पेनमा ६ सय ४०, फ्रान्समा २ सय ६४ जना, अमेरिकामा एक सय ५५, बेलायतमा एक सय ४, दक्षिण कोरियामा ९१ जनाको मृत्यु भइसकेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाको कारण सबै सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन । विश्वभर फैलिएको कोभिड–१९(कोरोना भाइरस) बाट सतर्कता अपनाउन भन्दै र सरकारले कोरोनाको सतर्कताका लागि दिएको निर्देशन पालाना गर्दै नेकपा अध्यक्ष प्रचण्डले सबै कार्यक्रम स्थगित गरेका हुन।प्रचण्डका स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रचण्डको भेटघाट समेत स्थगित भएको जानकारी दिएकी छिन।
बलिउड चलचित्र ‘वार’ की अभिनेत्री बाणी कपुर नायक अक्षय कुमारको नयाँ चलचित्रमा देखिने पक्का भएको छ। अक्षयको नयाँ फिल्म ‘बेल बटन’ मा नायिका बाणी कपुर अक्षयको जोडीको रुपमा फाइनल भएकी हुन्।बलिउडमा हिट चलचित्र दिइरहेकी अभिनेत्री बाणी कपुरले बलिउडमा अपेक्षित सफलता भने पाएकी छैनन्। बाणीले यो चलचित्रमा केही हप्ता अगाडि नै काम गर्ने पक्का भएको हो। अहिले उनको लुक्सको टेष्ट भइरहेको भारतीय मिडियामा उल्लेख छ।
भारत तर्फ निर्यात गर्न लागिएको ६ बोरा मास्कसहित दुई जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ। ६ बोरामा २० हजार मास्क रहेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–५ घर भएका ३८ वर्षीय सुनिल जयसवाल र २६ वर्षीय अजय महतो कोइरी रहेका छन्। काठमाडौंबाट पर्साको सीमावर्ती बजार भिस्वा जाँदै गरेको रात्रीबस पोखीयामा रोकेर चेकजाँच गर्दा प्रहरीले २० हजार थान मास्कसहित जयसवाल र कोइरीलाई पक्राउ गरेको हो।
सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले कोरोना भाइरस (काेभिड–१९) बारे सचेतना सन्देश दिने रिङ्ग–ब्याक टोनको सुरुवात गरेको छ।कोरोनाबारे चेतनामुलक सन्देश सर्वसाधरणमाझ पुर्याउने उदेश्यका साथ यसको सुरुवात गरिएको कम्पनीले जनाएको छ। अब कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा फोन गर्दा कोरोनाको लक्षण, रोकथाम र पूर्वतयारीबारे जानकारी सुन्न सकिने छ। यसकाे साथै याे सन्देश सुन्नका लागि ३२१०० मा निःशुल्क फाेन गर्न सकिन्छ।
काठमाडाैं– नेपाल सरकारले प्रतिबन्ध लगाएका देशमा भएका नेपालीले पनि नेपाल प्रवेश गर्न नपाउने बताएकाे छ। काेराेना माहामारी नफैलियाेस् भन्ने उद्देश्यका साथ नेपालले युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेकाे थियाे।
प्रतिबन्धित देशमा रहेका नेपालीहरूकाे भिसा सकिने तथा देशमा आउने अत्यावश्यक काम रहेपनि अब नेपाल आउन नपाउने भएका छन्।
प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोनासम्बन्धी उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता नारायण विडारीले प्रतिबन्धित देशमा रहेका नेपालीलाई पनि ततकाल स्वदेश फर्काउन सक्ने अवस्था नरहेकाे भन्दै जहाँ छन् त्यहीँ रहन ग्ह गरेका छन्।