बुटवल– कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन प्रदेश नं ५ सरकारले पूर्वतयारी योजना सहित प्रभावकारी अभियान सञ्चालन गरेको छ। कोरोनाका जोखिम बारेमा प्रदेशका सबै जिल्लामा सचेतनामूलक कार्यक्रमसँगै सङ्क्रमण देखिएमा क्वारेन्टाइन र आइसोलेसनको समेत व्यवस्था गरिएकोे छ। जोखिम आउन नदिन पूर्वतयारीका लागि विभिन्न १३ बुँदे निर्देशनसमेत सरकारले जारी गरेको छ।
मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस जोखिम नियन्त्रणका लागि सचेनतामूलक कार्यक्रमलाई नै जोड दिएको छ। यस्तै प्रदेश सबै जिल्लास्थित जिल्ला प्रशासन कार्यालयले सङ्क्रमणको सम्भाव्य जोखिम न्यून नहुँदासम्म नेपाल–भारत सीमाबाट तीर्थाटनका लागि आवतजावत गर्नेको व्यवस्थापन तथा आवश्यकताअनुसार रोक लगाएको छ।
बजारमा अत्यावश्यक वस्तुसँगै मेडिकल मास्क, सेनेटाइजर, पञ्जाजस्ता सामग्रीको अभाव हुन नदिने, ती वस्तुको कृत्रिम अभाव गर्न खोज्नेमाथि कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित उच्च टोलीले अनुगमन गर्ने र गौतमबुद्ध विमानस्थललगायतका विमानस्थलमा यात्रुको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउनेजस्ता महत्वपूर्ण तयारी गरिएको छ।
प्रदेश सरकारले सङ्क्रमण रोकथामका लागि प्रदेशका कुनै पनि निकायमा मानिस भीडभाड हुने गरी कार्यक्रम गर्न रोक लगाइसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकृत नारायण अर्यालले जानकारी दिएका छन्। यससँगै प्रदेशमा रहेका शिक्षण संस्था पनि बन्द गरिएका छन्। सार्वजनिक यातायातमा सर्वसाधारणको आवागमन निकै कम हुँदै गएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ।
यस्तै यहाँका होटलमा ग्राहकको सङ्ख्यामा समेत निकै कमी आउँदा होटलले कर्मचारीको सङ्ख्यासमेत कटौती गर्न थालेका छन्। प्रदेश सरकारले प्रदेशअन्तर्गतका १२ जिल्लाका सर्वसाधारणलाई सेवा उपलब्ध गराउने उद्देश्यले बुटवलको बुटवल धागो कारखाना, दाङको बेलझुण्डीमा रहेको आयुर्वेद अस्पताल र बाँकेको खजुरामा रहेको कपास विकास निगमको भवनमा क्वारेन्टाइन स्थापनाको तयारी थालेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरीले जानकारी दिएका छन्।
भैरहवास्थित भीम अस्पतालमा तत्कालै तीन श्यया सघन उपचारकक्षसहित ३० श्यया आइसोलेसन एक हप्तामा तयार हुनेछ। प्रदेश नं ५ भारतीय सिमानाका जोडिएका तराईका छ जिल्ला पर्दछन्। भारतीय नाका पार गरेर नेपाल आउने सर्वसाधारणका लागि विमानसथल र सीमा क्षेत्रमा प्राथमिक स्वास्थ्य जाँच गरेर मात्र पठाउने गरिएको छ। यसका लागि विभिन्न १८ स्थानमा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको छ। यी केन्द्रबाट हालसम्ममा झण्डै दुई हजार ५०० सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा ती स्थानमा क्वारेन्टाइन क्षेत्र बनाउन थालिएको निर्देशक डा गिरीले जानकारी दिएका छन्। क्वारेन्टाइनमा ४०० देखि ५०० जनालाई राख्न सकिनेछ। प्रदेशका १९ अस्पतालमा ११४ आइसोलेसन तयारी अवस्थामा राखिएको छ। सम्बन्धित अस्पतालमा कोरोना भाइरसको उपचार गर्न र त्यस सम्बन्धी प्रबन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन्।
प्रदेशका विभिन्न स्वास्थ्य प्राविधिकलाई विशेष तालिम दिएर प्रयोगशाला सञ्चालनमा ल्याइएको उनले जानकारी दिएका छन्। प्रदेशमा १३ सरकारी अस्पताल र चार मेडिकल कलेज छन्। यस्तै पहाडी जिल्लाका लागि पनि जिल्ला अस्पताल र स्थानीयस्तरमा रहेका स्वास्थ्य केन्द्रमा व्यवस्थापन गरिएको जनाइएको छ। रासस