एजेन्सी– अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्राइन मस्को जाने भएका छन् । दोस्रो विश्वयुद्धमा विजयी भएको सम्झनामा रुसले मनाउने दिवसमा सहभागी हुन उनी मस्को जाने भएका हुन्। ‘मे महिनामा हुने रुसी परेडमा सहभागी हुन ब्राइन मस्को जाने भएका छन्,’ रुसका लागि अमेरिकी राजदूत जोन सुल्लिभानले बिहीबार जानकारी दिए।
दोस्रो विश्वयुद्धमा नाजी जर्मनीविरुद्ध सोभियत संघले प्राप्त गरेको जितको सम्मानमा मे ९ का दिन राजधानी मस्कोमा हुने वार्षिक परेडको अध्यक्षता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गर्ने कार्यतालिका छ। सोही दिन रुसलेआफ्नो सैन्य क्षमताको प्रदर्शन गर्ने पनि राष्ट्रपति कार्यालय क्रेमलिनले उल्लेख गरेको छ । शीतयुद्धकालीन अवस्थापछि पहिलोपटक रुस र अमेरिकाबीचको सम्बन्ध अत्यन्तै तीक्ततापूर्ण अवस्थाबाट ग्रुजिरहेको छ।
सन् २०१६ मा भएको अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपको आरोप र जासुसी गरेको भन्दै रुसले अमेरिकी पूर्व जलसैनिकलाई नियन्त्रणमा लिएको लगायतका विषयले यी दुई देशबीच पछिल्लो समय उतारचढावयुक्त सम्बन्ध रहँदै आएको छ । विश्वयुद्धमा नाजी जर्मनीविरुद्ध प्राप्त जितको वर्षगाँठ मनाउने समारोहमा उपस्थित हुन क्रेमलिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै निमन्त्रणा पठाए पनि उनले अस्वीकार गरेका थिए । अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प स्वयं भने उक्त समारोहका सहभागी हुन चाहन्थे तर सल्लाहकारको दबाबले उनले उक्त चाहना अगाडि बढाएनन् ।
‘रुसमा हुने समारोहमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्राइनले गर्ने छन्,’ दूतावासले बिहीबार सार्वजनिक गरेको राजदूत सुल्भिानको विज्ञप्तिमा उल्लेख छ ।
‘विश्वयुद्धमा गठबन्धन बनाएर सँगै लडेको अमेरिका र सोभियत संघका नागरिकको सम्मानका लागि पनि उच्चस्तरीय प्रतिनिधिमण्डल मस्को आउन लागेको हो,’ विज्ञप्तिमा भनिएको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमणका कारण मे ९ मा पूर्वनिर्धारित रुसी परेड हुने वा नहुने भन्ने अड्कलकै बीच अमेरिकाले प्रतिनिधिमण्डल पठाउने जानकारी गराएको हो। रुसले भने कार्यक्रमको तीव्र गतिमा तयारी भइरहेको जानकारी दिएको छ। यद्यपि उसले कार्यक्रम स्थगनबारे केही बोलेको छैन। साथै रुसमा बिहीबार पहिलोपटक कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ।