काठमाडौं — भक्तपुर लोकन्थली-१ स्थित पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा गत फागुन २८ गते बम बिष्फोटन भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा कैलाली भजनी नगरपालिका–४ घर भएका ३१ वर्षीय अमृत बहादुर कुमालक्षेत्री, कैलाली टिकापुर नगरपालिका–८ बस्ने ३१ वर्षीय लक्ष्मण सेट्टी र कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–८ बस्ने २७ वर्षीय अभिषेक भन्ने टेक विक रहेका छन्।
उनीहरुमध्ये अमृत बहादुर नेकपा (विप्लव) समूहका मध्य कमाण्ड व्युरो सदस्य, लक्ष्मण सेट्टी साधारण सदस्य र टेक विक साधारण कार्यकर्ता रहेको खुल्न आएको छ। उनीहरुले घटनामा प्रयोग गरेको प्रदेश ३–०२–००१ प २८३६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
उक्त मोटरसाइकल घटनाको योजना सहित अमृत बहादुरले घटनाको अघिल्लो दिन रानीवारीमा ल्याई लक्ष्मण सेट्टीलाई दिएको र घटना घटाउन सोही मोटरसाइकल प्रयोग गरेको अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।